– मधुर भट्टराई

“म सिल्ला, तँ फ्याक्टे । ’’

गुच्चा भलेर भुईंमा पछारेपछि निधारको पसिना पुछ्दै दिनेश दाइले भने । यस पटकसम्म चार पाँच पटक भएको थियो, उनी सधैं सिल्ला हुन्थे भने म सँधै फ्याक्टे । उनी सिल्ला भएपछी खोपीमा गुच्चा चाँडै पिलाउँथे र मेरो गुच्चा क्षणभरमै मार्थे । म निरन्तर हार्दै गईरहेको थिएँ, उनको खल्तीमा मेरो गुच्चा थुप्रिरहेको थियो ।

“नाईं, अब हार्नेले भल्ने । म भल्छु ।’’ मैले घुर्की लगाएँ ।

“तेसो भए अब म खेल्दिनँ ।’’ उनी टक्टकिन खोजे । शायद मेरो घुर्कीको आधार कमजोर थियो ।

मसँग थोरै मात्र गुच्चा बाँकी थिए । त्यही थोरैले हारेको गुच्चा फर्काउने दाउमा थिएँ म । उनी भने हात परिसकेको सम्पत्ति जोगाएर बाँकी पनि हत्याउने सुरमा थिए ।

दिनेश दाइ गुरुप्रसाद बडाबाका ठूल्कान्छा छोरा । उनको उमेरको हाँगो समयको रुखमा मेरो भन्दा निक्कै तन्किईसेको थियो । तरपनि उनी हाम्रा गुच्चा खेल्ने साथी थिए । भैंसी चराउने दोस्त थिए । र कहिलेकाहीं दिउँसोको टन्टलापुर घाममा उनको घरको मोटे कुकुर लिएर रातुखोलाको काँश घारितिर खरायो लखेट्ने सहयात्री थिए ।

म उनको पूरानै शर्त र नियमको अधिनमा बाँधिन बाध्य भएँ ।

फलस्वरुप, मैले मसँग भएको सप्पै गुच्चा हारें ।

म हारले गर्दा दकस परेको लज्जाबती झारझैं चुम्रुक्क परें । उनी भने मध्याह्न्नको घण्टीफूलझैं ताजा र फूर्तिला देखिए ।

हामी उनकै घरअघिको बाटोमा थियौं । बाटो छेउ, पुस्तकालय भन्दा पूर्ब एउटा बडेमानको पूरानो मुढा थियो । त्यो मुढा हामीले थाहा पाएदेखि घाम ताप्न पल्टिएको अजिंगरझैं पल्टिरहेको थियो जुन घामपानीले धोद्रिएको थियो । काठको मौलीक रंग बदलेर कालो भएको थियो । दिनेश दाइ उनका बुवाकाका मिलेर उहिल्यै बाढीबाट निकालेको मुढा हो भन्थे । गुच्चा हारेपछी म त्यही मुढामाथी गएर बसें । मन त्यसै त्यसै रोउँरोउँझैं भएको थियो । पानी चुहिन लागेको बर्षातको आकाशजस्तो । उनीपनि मेरो छेउमा आएर टुसुक्क बसे । मेरो मलिन अनुहारको भाखा पढेर आफ्नो स्वार्थको बल्छी थाप्दै भने, “अई ! तैंले तेरो घरमा भा’को काकाले खाने लाम्पाते सुर्ती ल्याईदिस भने चार…पाँचवटा गुच्चा दिन्छु । अनि सुर्तीपनि चाख्न दिन्छू, ल्याउँछस ?”

मेरा हारले ओईलिएको मन एकाएक चनाखो भयो । सुर्ती चाख्न दिन्छु भन्दापनि पाँचबटा गुच्चा दिन्छु भन्ने बाक्यांशले मलाई आकर्षित गरेको थियो ।

“साँच्ची हो ?” मैले उनको आश्वासनको सुनिश्चितता खोजें।

“साँच्ची हो । नपत्याए ला एउटा गुच्चा।’’ उनले एउटा गुच्चा बैना स्वरुप मेरो हातमा थमाईदिए ।

दिउँसोको समय । घरमा कोही हुने संभावना थिएन । बूवा स्कूलमै हुनुहुन्थ्यो । आमा यसबेला घाँस काट्न जानुहुन्थ्यो सँधै । दाजुदिदीहरु पनि स्कूलबाट फर्किने बेला भैसकेको थिएन । सञ्चो नभएको बहानाले म स्कूल गएको थिईंनँ, त्यो दिन । आमाको बाकस खोतलखातल पार्दा एक रुपैंयाँको सिक्का फेला पारेको थिएँ । त्यही सिक्का खर्चेर धमाल्नी हजुरआमाको पसलबाट किनेको थिएँ , एकरुपैयाँको आठ ओटा गुच्चा ।

म म्याराथुन धावकझैं दगुर्दै घर पुगें । यताउती हेरें । घरका कसैले थाहा पाए परिणाम राम्रो नहुनेमा म सजग थिएँ । घर मैले सोचेभन्दा गहिरो शुन्यता र नीरबताको एकल कब्जामा थियो । घोप्टे उघारेर माथिल्लो तल्लामा पुगें । कोठाको ढोका खोलेर बुवासुत्ने खाटमुनि झुकेर हेरें । बुवाले जतनसाथ परालको चकटीमा बेरेर राख्नुभएको लाम्पाते सुर्ती त्यहिं थियो ।

म सुनगोहोरोझैं घस्रिंदै खाटमूनि छिरें । सुर्ती बेरिएको चकटी भित्र हात छिराएर एउटा लामो पात चुँडें । अचानक भर्याङबाट कोही माथि उक्लिएको आवाज आयो । म खङ्रङग भएँ । चेतनाको घोडाले अनायासै बुर्कुसी मार्यो ।  हतारहतार खाटमुनिबाट निस्किन खोज्दा टाउको खाटको पासिमा नराम्रोसँग ठोक्कियो । टाउको सुम्सुम्याउँदै गर्दा एउटा बिरालो मुसा लखेटदै कोठाभित्र पस्यो । धत्तेरी ! धन्न बिरालो रहेछ । एक्कासी बढेको मुटुको चाल बिस्तारै शिथिल हुन लाग्यो । लुगाको धुलो टक्टक्याउँदै म तल ओर्लिएँ ।

दिनेशदाइ त्यहि ठूलो मुढामा बसेर मलाई कुरिरहेका रहेछन । मेले उनको हातमा  लाम्पाते सुर्ती राखिदिएँ । उनको ओठमा सन्तुष्टीको मुस्कान दौडियो । यो सुर्ती खान त बहुत मजा आउँछ भन्दै सुर्ती खल्तीमा राखे र बाचा अनुसारको गुच्चा मेरो हातमा राखिदिए । । मेरो अनुहारमा एकाएक शरदको जून उदायो ।

“फेरि खेल्छस मसँग ?” उनले मलाई चुनौती दिए ।

“खेल्छु ।’’ म जङगिएँ । आफूले हारेको गुच्चा जित्ने आशाको बत्ति कताकता पिलपिल गरिरहेझैं देखेको थिएँ, शायद ।

उनी मभन्दा पाका मात्र थिएनन ,गुच्चामा उत्तिकै सिपालु पनि थिए । म कहिलेकाही जित्थें तर उनी प्राय जितिरहन्थे । एकैछिनमा मेरो खल्तीका सबै गुच्चा उनका भए । म फेरि टुल्ली भएँ ।

यसपटक मन सोचेभन्दा बढ्ता अमिलो भयो । मेरो अनुहार निचोरेको कागतीजस्तो भएको थियो जिब्रोमा हारको तितो स्वाद बसेजस्तो भयो । बिरक्तीको कालो बादल मेरो अनुहारभरि मडारिईरहेको थियो । मेरो भावभङ्गिमा देखेर उनले भने,” सुर्ती खान्छस । रमरम हुन्छ, मज्जा आउँछ ।’’

उनी मैले ल्याईदिएको लाम्पाते सुर्ती मल्दै थिए ।

मैले हारको रनाहमा हात थापें ।

उनले एक जुम सुर्ती मेरो हातमा राखीदिए । लगत्तै सुर्ती खाने तरिकाको डेमो देखाउँदै भने, “त्यसपछी निस्केको थुक घुटुक्क निल्नुपर्छ । बहुत मज्जा हुन्छ ।’’

मैले उनको निर्दैशन बमोजिम तल्लो ओठ र गिजाको चेपमा खैनी राखें र पिच्च थुकें ।

ओठको कलिलो भित्ता बेस्सरी चहर्याउन थाल्यो । काटेको घाउमा कागती दलेजस्तै । खैनी सिर्जित थुक घुटुक्क के निलेको थिएँ, घाँटी किक्लिक्क पार्यो । वाक्क आउलाजस्तो भयो । आकाश, धर्ती सारा ब्रह्माण्ड फनफनी घुम्न थाल्यो । दिनेशदाइलाई हल्लिरहेको देखें । घाँटी कोक्याएर खपिसक्नु भएन । तत्कालै सुर्ती गिजाको चेपबाट जिब्रोले उधिनेर फालें । पिङ्को लठ्ठा बटारिएजस्तो पेटभित्र आन्द्रा बटारिन थाल्यो । सडक छेउमै हुर्लुक्क छादें । मैले छाद्दा दिनेश दाइ घरतिर टाप कसिसकेका थिए । म शिथिल भएँ । टाउको घुमिरहेकै थियो । बिस्तारै र सम्हालिंदै घर पुगें र ओछ्यानमा बुढो रूख ढलेझैं डङरङ्ग लडें । निक्कैबेरसम्म घरि उडेर आकाशमा पुगेजस्तो त घरि धर्तीमा थेचारिएजस्तो भैरह्यो । जम्मा ११ बर्षको थिएँ त्यतिबेला ।

 

निक्कैबेरसम्म सुतेछु । दिदीले खाना खान ब्युँझाएपछी म उठें । आकाशका ताराहरुले साँझबत्ति बालिसकेका रहेछन । झ्याउँकिरीहरुले  सांगीतिक महफिल जमाईसकेका रहेछन । खैनीको रन्कोले छोडिसकेको भएपनि घाँटीभने कताकता काँचो पिंडालुले कोक्याईरहेझैं भएको  थियो । पेटमा अमिलो पानी छचल्किरहेको थियो । तैपनि खाना खान बसें । त्यो दिन घरमा खसीको मासु पाकेको रहेछ । मन एकाएक ढकमक्क फुलेको तोरीबारी जस्तै भयो । एकदमै उज्यालो । आफूले थाहै नपाई मासु पाक्नू दुर्लभ संयोग हुन्थ्यो घरमा । किनभने बजारबाट मासु ल्याउने चलन थिएन । घरगाउँमा कसको घरमा खसी काटिंदै छ दुई चार दिन अगाडी नै थाहा हुन्थ्यो । यसरी थाहा पाएपछी काँचो बोसोको गन्ध सम्झेर मासु खान मन लाग्दैनथ्यो । त्यसैकारण आफूले थाहै नपाई घरमा मासु पाकोस भन्ने लाग्थ्यो , तर यस्तो दुर्लभ संयोग सितिमिति पर्दैनथ्यो ।

मुखमा बाँकी बसेको सुर्तीको तम्तम्याईलो स्वादलाई मासुको स्वादले पनि जित्न सकेन । नमिठो मुख बनाउँदै मासुभात खाएँ र तुरुन्तै ओछ्यानमा गएर पल्टिएँ ।

“एउटा अम्मल नखाने मान्छे पनि के मान्छे !”

गाउँघरतिर धर्मशास्त्रमा लिपीबद्द शुक्तीझैं लाग्ने यस्ता कथनहरु बारम्बार सुनिन्थे । लाग्थ्यो- अम्मल हुनेहरु साँच्चिकै जवाँमर्द हुन, नहुनेहरु निम्छरा, पानीमरुवा । गाउँघरमा चुरोट, बिंडिंका अम्मलीहरु सरोबरि थिए । तर त्यो भन्दा धेरै थिए खैनी, सुर्तीका अम्मलीहरु । सुर्ती खानेहरुको फुर्ती सुर्ती ओठ र गिजाबिचको गल्छीमा च्यापेसँगै भर्खर शितले नुहाएको दुबोझैं तरोताजा हुन्थे भने नखानेहरु घाममा सुकाएको तोरीको सागजस्तै लत्रिन्थे ।

हुनपनि गाउँघरमा चारजना भेट भएपछी गफसँगै सुर्ती आदान प्रदानको श्रृङ्खला यसरी चल्थ्यो मानौ सबैजना कुनै धार्मिक अनुष्ठानमा प्रसाद ग्रहण गरिरहेका छन । जस्तोसुकै फोहोरीले मलेको सुर्तीपनि ग्राह्य हुन्थ्यो सबैलाई । उचनिच, हेलाहोंचा केही थिएन । समानता र समताको अभ्यासको उम्दा उदाहरण देखिन्थ्यो त्यो समूदायबिच । यसर्थ सुर्ती अम्मलीबिचमा उन्नत किसिमको समाजबादको अभ्यास हुन्थ्यो । सुर्तीखाएपछी फुर्ती आउँछ, थकाई हराउँछ, तिर्खा मेटिन्छ, छिट्टै साथी बन्छन जस्ता संकथनहरु अम्मलीहरु बनाउँथे । हामीजस्ताको बाल मष्तिस्कमा यिनै भाष्यहरु किला गाडेर बस्थे । हुनपनि हामीभन्दा अघिल्लो पुस्तामा सुर्ती नखाने मान्छे बिरलै थिए । मलाई पनि किन किन बिरालाकोटीको दर्जामा पर्न पटक्कै मन थिएन ।

घरमा केही बाख्रापाठा थिए । कहिलेकाहीं साथीहरुसँग बाख्रा चराउन लैजान्थें । चरुवा जानू काम कम रमाईलो धेरै लाग्थ्यो । साथीहरुसँग मनग्ये खेल्न पाईन्थ्यो । बर्जित र उडन्ते कुराहरुको उडान भर्न पाईन्थ्यो । साथी पनि थरिथरिका हुन्थे । त्यस मध्येका मिल्ने समबयी साथी थियो- बेदे । ऊ सानैदेखि खैनीको अम्मली । चरुवा जाने लगभग सबै खैनी खान्थे वा खाने अभ्यास गरिरहेका थिए । म भने भिडमा नमिल्ने पर्थें । लाग्थ्यो- अरुहरुले जीवनको उच्चतम उपलब्धी हासिल गरिसके, म भने पछी परें । म बिस्तारै सुर्ती खाने रहरसँग लहसिंदै जान थालेको थिएँ । तर घरि पहिलो सुर्ती अनूभवले रहरको बाटो छेक्थ्यो । त्यो तगारो नाध्न सकिरहेको थिईनँ ।

एक दिन चरुवा बेदे र म मात्र थियौं ।

बेदेले खैनी मल्दै बगार भूतसँगको जम्काभेटको कथा सुनाईरहेको थियो ।

“बाख्रा लिएर घर फर्किरहेको थिएँ । म एक्लै थिएँ, त्यो दिन ।  सिन्दुरे साँझको समय । बिच खोलामा पुगेपछी बेस्सरी बोका गन्हायो । यसो हेर्छु त बाटो छेकेर रातो जामा लगाको डेढफुटिया बगार उभिएको छ । नाके स्वरमा के के भन्दैथ्यो । मपालो हतार हतार सुर्ती भुईंमा छरिदिएँ । बगार भुईंमा बसेर सुर्ती टिप्न लाग्यो, अनि म टाप । त्यसपछी सात दिन ज्वरो आयो । हजुरबाले फुकेर ठिक भएँ ।’’

बगारले सुर्ती खाने, नाके स्बरमा बोल्ने, बोका गन्हाएजस्तो गन्हाउने, दिउँसोको ठयाक्कै बार्ह बजे र बेलुका घाम रातो भएपछी सक्रिय हुने कुरा भूत बिशेषज्ञलेझैं गरि उसले बतायो । खैनीको अम्मली भएकै कारणले आफू भूतबाट बालबाल बाँचेको कुरा सगर्ब सुनायो । उसका कुराले मनभित्र डरको सुईरा पलाए । त्यो डरको सुईरालाई भुत्ते बनाउन सक्ने अचुक अस्त्र के हुन सक्थ्यो र ? त्यही सुर्ती निर्बिकल्प बिकल्प हुन सक्थ्यो, मेरा लागि पनि । त्यसैले भूतबाट बच्न भए पनि सुर्तीको अम्मली भएर सधैं सुर्ती बोकेर हिड्ने हुनु थियो । उसको कुराले बन्दै गरेको रहरको घरमा बिस्तारै ईंटा थप्न थाल्यो ।

उसले सुर्ती मलिनसक्दै  हात थापें । मेरो अनुहारमा पुलुक्क हेरर भन्यो, “खाने हो ?’’

“चाख्छु ।’’ मैले भनें ।

उसले एकजुम खेनी मेरा हातमा राखिदियो र अनुभवी अम्मलीलेझैं सुर्ती खानूको फाईदाका लम्बेतान फेहरिस्त प्रस्तुत गर्यो । मैले पूरानै अन्दाजमा खैनी गिजाको चेपमा च्यापें । एकदुईपल्ट थुकेर त्यसको रस घुटुक्क निलें । पूरानै अनुभव रिठ्ठोनबिराई पुनराबृत्ती भयो । टाउको भाउन्नियो । आन्द्रा बटारियो । घाँटी बेस्सरी कोक्यायो ।

“सिक्लाई गर्दा मलाई पनि यस्तै भा’को थियो, एक दुई दिन । तर बिस्तारै बानी पर्छ ।’’ उसले मेरो अनुहार हेर्दै आफ्ना अनूभव जनित प्रशंगहरु सुनाएको थियो  र मलाई हौसला दिईरहेको थियो । म पनि यसरि प्रयास गरिरहेको थिएँ मानौं की सुर्ती अचुक अजम्बरिको बुटी हो । यसको सेवनले जिवनका जस्तासुकै दुःख कष्ट पनि छुमन्तर गरिदिन्छ ।

भोलिपल्ट पनि त्यस्तै भयो । तर मलाई जसरी पनि सुर्तीको अम्मली हुनु थियो । हिजोभन्दा सजिलो भयो, मज्जा आयो भनेर बेदेसँग सफेद झुट बोलें । हिजोको चुनाले काटेको ओठको घाउ झन बेस्सरी चहर्यायो । म मेरो कमजोरी देखाउन चाहँदैनथें, शायद । निशंकोच अम्मलीहरुको कित्तामा पर्न चाहन्थें । त्यसैले सुर्तीखाँदाको पूर्ण आनन्द प्राप्त गरेको अभिनय गर्न म अभिशप्त थिएँ ।

चौथो दिन बेदेसँग मध्याह्न्न तिर भेट भयो । गाउँको सिरानमा भएको धारा छेउ, बाँसझाँङ मुनि । हामी पुल्लीठण्डा खेल्दै थियौं, एब्बो, दुब्बो, तिब्बो, झारो, भाँचो भन्दै ।  ऊ मेरो अनुहारमा हेरर खिस्स हाँस्यो । म पनि प्रतिक्रियात्मक मुस्कान मुस्कुराएँ ।

“सुर्ती खाने हैन त ?” उसले मेरो ध्येय बुझेर उसले सोध्यो ।

“खाने तर यहाँ हैन ।” धारामा चिनारु मानिसहरु प्रशस्तै थिए । त्यसैले त्यहाँ सुर्ती खान दकस लागेकोले मैले भने ।

“काँ त ?’’

“चुहाको गाछीमा गएर ।’’

फूटबल खेल मैदानदेखि पश्चिम खोलाको किनारमा एउटा चुहाको रुख थियो । त्यो त्यही रुख थियो जहाँ हामी बर्खाका रापिला मध्याहन्नमा गफका बतास चलाउँथ्यौं । दुर्गा मेला र सिद्दनाथ मेलामा के किन्ने हो, छलफल गर्थ्यौं । काँशघारिमा बगेडीका गुँड खोज्दाखोज्दै थाकेको ज्यानलाई बिश्राम दिन्थ्यौं । खुला ठाउँमा उभिएको त्यो रुख टाढैबाट पनि देखिन्थ्यो । घामको एक थोपो पनि नहुहिने गरि छानो छाएझैं ढकमक्क ढाकिएका चुहाका पात थिए । हाँगाहरुका अनेकन संजालमा फैलिएको मझौला आकारको रुख थियो, त्यो । गर्मीमा सियालको निम्ती अति उपयुक्त । रुखमा हल्का पहेंलो र सेतो मिश्रित सोली आकारको बास्नादर फूल फुल्थ्यो । फुर्सदिलो मध्याह्ननमा हामी त्यही चुहाको गाछीमा जम्मा हुन्थ्यौ । त्यही रुखका हाँगामा बसेर हामी गर्मी मौसममा सिर्सिरे बतासको आनन्द लिन्थ्यौं ।

हामी त्यही गाछीमा पुग्यौं । त्यहाँबाट पश्चिमतिर हेर्दा भोटेखोलाको बालुवा घाममा टल्किरहेको थियो । केही दिन आएको बाढीको पानी खोलाका कुनाकानी खोपिल्टामा देखिन्थे । बेदेले खल्तीबाट रेडिमेड गोल्डेन ब्राउन ईगल मार्काको सुर्ती निकाल्यो ।

“यो  खाने र ? मलुवा छैन ? फेरि यसमा त तेजाब हुन्छ रेन्त ? ’’ मैले एकैसाथ तीन प्रश्नको त्रिशूल बेदेतिर सोझ्याएँ ।

“यो झन मज्जा हुन्छ, मलुवा जस्तो कडा हुँदैन । यो त राजाले खाने सुर्ती हो, काँको तेजाब हुनु ।’’ उसले प्याकेट खोल्दै भन्यो ।

“राजाले खाने सुर्ती ?” मेरा नजर एकाएक तन्कियो । प्याकेट पनि पूरै सुनले बनेको जस्तो थियो । साँच्चै हो की क्याहो जस्तो पनि लाग्यो ।

“ साँच्ची ! राजाले खाने सुर्तीको जुम कत्रो हुन्छ होला, हगि ?’’ राजाले बेदेसँगै सुर्ती मागेर खान्छनझैं गरेर उसलाई थप प्रश्न गरें ।

“राजाले त डयाम्मै एक पाकेटको एकै जुममा खान्छन होला नी । त्यसैले त राजा ।’’ उसले मेरो हातमा मसिनो जुम राखीदिँदै भन्यो ।

साथीभाइ जम्मा हुँदा त्यही रुखदेखि पर उभिएको रुख देखाउँदै भन्थ्यौं, “यो रुख त राजाले मात्र चढन सक्छ होला है ।’’ कहिले खोलामा उर्लिएको बाढी देखाउँदै भन्थ्यौं, “यो बाढी त राजाले मात्र तर्न सक्छ होला है ।’’ हाम्रो मानसकिकताको राजा दन्त्यकथाको राजा जस्तै थियो । वीर, पराक्रमी र शौर्यबान । जे पनि गर्न सक्ने । जसरी पनि गर्न सक्ने । घरि राजाले खेल्ने पुल्लीडण्डाको आकार कत्रो हुन्छ होला जस्ता बिषयमा बहस गर्थ्यौं । हाम्रो यस्तै यस्तै उडन्ते र रुमानी गफको जिउँदो साक्षी थियो, त्यो रुख ।

तर मलाई गोल्डेन त झनै कडा लाग्यो । तेजाबले पोलेजस्तो भतभती गिजा पोल्न थाल्यो । राजाले खाने सुर्ती खाएर राजा हुने रहर एकाएक मक्कियो । थला पर्यो ।  सुर्तीको रनाहाले चुहाको हाँगाबाटै खसुँलाझैं भयो । त्यसै त तिरमिरे तारा देखिने घाम लागेको बेला मैले सहस्र ताराहरु एकैचोटी देखें । मैले सुर्ती फालें ।

“किन फालेको, मिठो लागेन ? ’’ बेदेले यसरी प्रश्न गर्यो मानौं मैले मिठाई खाँदाखाँदै अचानक थुकेको थिएँ ।

“यार, म अबदेखि सुर्ती खैनी खान्न होला ।’’ मेरो बदलिएको मनोदशा एकाएक बोल्यो । मलाई लाग्यो सुर्ती खानु मेरो क्षमताभन्दा बाहिरको कुरो हो । म अम्मलीहरुको कित्तामा किमार्थ पर्न नसक्ने भएँ ।

किन भनेर उसले प्रश्न पनि सोधेन । मेरो स्थितीको आँकलन उसले गरिसकेको थियो होला । उसले मेरो अनुहार गहिरिएर हेर्यो ।  उसको अनुहार पनि मलिन थियो । मलाई सुर्ती खान अभ्यस्त बनाउन नसकेकोमा ऊ शायद दुःखी थियो । उसले मलाई खाऊ भनेर कर गरेन । एकछीन हामी चुहाको रूखमै बस्यौं । अरुदिन अन्य साथीहरु पनि जम्मा हुन्थे, तर त्यो दिन  त्यहाँ कोही आएनन । हावा सुस्तरी चलिरहेको थियो । शीतल हावाको प्रभाबले होला मेरो रन्किरहेको टाउको केही क्षणमै शीतल भयो । चुहाको बास्नादार फूल सुँघ्दै हामी साबिकको स्थान फर्कियौं ।

त्यसपछी भने सुर्ती अम्मलीका जति सुर्ती पूराण सुनेपनि, सुर्ती खाने रहर कहिल्यै जागेन ।

***

प्रतिक्रिया

सम्बन्धित खवर