– नवराज न्यौपाने ‘मौन’

आमडाँडाको चाैतारीमा बसेर कविता लेखिरहेकाे थिएँ । माैसममा एकाएक परिवर्तन आउन थाल्याे । बिहान पानी परेर खुलेकाे आकाश फेरि धुम्मिन थाल्याे । अनि म घरमा फर्किएँ ।

अकस्मात् हावा हुण्डरी चल्न थाल्याे । हावासँगै अुसिना पनि खस्न थाले । एकछिनपछि त सघन रूपमा हावाहुरी र असिनाकाे वर्षा हुन थाल्याे । हामी झ्यालढाेका थुनेर घरभित्र बस्याैँ । ढुङ्गाकाे छानाे ( स्लेट) र कर्कटपाता (जस्तापाता ) काे पालीमा खसेका असिनाकाे आवाज निकै चर्काे थियाे ।

केहीबेरकाे उपद्राेपछि प्रकृतिमाता केही शान्त भइन् । झरी भने निरन्तर परिरहेकाे थियाे । हामीले ढाेका खाेलेर हेर्याैँ ।आँगनभरि सेताम्मे असिनाकाे रास थियाे । असिनाले लाछेर र हरीले उडाएर ल्याएका हरिया पातहरू आँगनभरि छरिएका थिए । पिँढी र बार्दलीभरी असिनाका टुक्राहरू छरिएका थिए । असिनाले नराम्ररी छानाका ढुङ्गा फुटाएछ, जस्तापाता कुच्याएछ । तलामा पनि पानी चुहिएकाे रहेछ । घरबाहिर रहेका प्लास्टिकका भाँडाकुँडाहरूमा प्वलैप्वाल परेछन् । गरलीमा सुकाएका लुगाफाटो र पालीमा सिउरेका जुत्तामाेजा हावाले उडाएर र भलले बगाएर परपरसम्म पुर्‍याएकाे रहेछ ।

हामी सबै मिलेर घर,भाँडाकुँडा र लुगाकपडा सफा गर्याैँ । अनि खाना बनाएर खायौं ।

आँगन तथा बारीमा घाँसमाथि परेका असिना अहिलेसम्म पग्लेका छैनन् । खेतका गह्राहरूमा पानी ताल परेकाे देखिएकाे छ । उत्तरतिर चुँदीखाेला र दक्षिणतिर गरमखाेला सुसाउँदै बगिरहेका छन् । म तलामा बसेर लेखिरहेकाे छु । छानाका छिद्रहरूबाट आकाश नियालिरहेकाे छु ।

प्रकृतिकाे याे राैद्र रूप देखेर मलाई बाल्यकालकाे सम्झना आयाे । म स्कुल भर्ना नहुदै २०३२ साल जेठ २ गते पनि यसरी नै असिना वर्सिएका थिए । तर त्याेबेला लाेहाेराेभन्दा ठूला असिना परेकाले निकै क्षति पुगेकाे थियाे । सम्झन्छु – त्याे बेला खेतबारी र बनजङ्गलमा गएका मानिस र चाैपायहरू पनि असिनापानीले चुटेर मरेका थिए । हाम्राे घरछेउका विश्वकर्मा दाइले मरेका चराचुरुङ्गी र बन्यजन्तु ल्याएर हप्तादिनसम्म मासुभात खाएका थिए ।

मानिसले जेजति उन्नति प्रगति गरेपनि प्राकृतिक प्रकाेपलाई राेक्न सक्दैन । तसर्थ यस्ता प्रकोपसँग सुरक्षित कसरी हुने भन्नेबारे सबैले सोच्न आवश्यक छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर