– बिनोद खनाल

गजल-१
गहन कुरामा विचार हुन्छन्
लुकेर पिउँने निगार हुन्छन्

कृपा हजुरको मिलेर होला
खुसी सधैँभर अपार हुन्छन्

लुकेर भाग्ने सँगै समरमा
डटेर लड्ने सवार हुन्छन्

अगाडि चिप्लो घसेर बोल्ने
हरेक पलमा बिकार हुन्छन्

दयालु मनको कुनै कुनामा
मिठास भर्ने कसार हुन्छन्

बजारको मूल्य दाँज्न पाए
सुकी बराबर हजार हुन्छन्

यथार्थ सपना सँगै जुटेका
रहर अचानक फरार हुन्छन्

नयन रसाएर आँसु झर्दा
बहेर पानी असार हुन्छन्

गजल-२
मन भो असाध्य चन्चल चोरूँ त नाम लाग्छ
टालो भनेर फ्याँक्दा आखिर त काम लाग्छ

तब सम्म हुन्छ माया जीवन रहे जगत् मा
माया बिना त रित्तो जीवन विराम लाग्छ

ठालू हरू त अक्सर धम्की दिएर बोल्छन्
होचो छ जो उसैको मुखमा लगाम लाग्छ

साथी बनेर धोका दिन्छन हजार चोटी
आपद कतै परेमा आफन्त काम लाग्छ

थोरै यहाँ अझै छन जो गर्न खोज्छ सेवा
सोझो नजरले हेर्दा दुनियाँ तमाम लाग्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर