काठमाडौँ – नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले औरही नगर कार्यपालिकाको कार्यालय भवन निर्माणका लागि १४ कठ्ठा जग्गादान गरेका छन् ।

औरही–८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने सो जग्गा उनले मङ्गलबार नै नगर कार्यपालिकाका नाममा रजिष्ट्रेशनपास गरिदिएको नगरप्रमुख सुनिलकुमार यादवले जानकारी दिए ।

उनका अनुसार सो जग्गा करिब रु एक करोड मूल्य बराबरको रहेको बताइएको छ ।

“हामी कार्यालय भवन निर्माणका लागि जग्गाको खोजिमा थियौँ”, उनले भने, “सभापति रायले यथेष्ट जग्गा दान गरेर दिएपछि अब कार्यालय भवन बनाउने बाटो खुलेको छ ।”

आफ्नै स्थायी बसोबासका नगरपालिकामा जग्गा नभएर कार्यालय भवन बन्न नसकेको सुनेपछि आफूले जग्गादान गरेको सभापति रायले जानकारी दिए ।

“म यसै नगरपालिका क्षेत्रको बासिन्दा हुँ, अत्यन्त जनसरोकारको कार्यालय भवन जग्गाकै अभावले बन्न नसकेको सुनेपछि दान गरे”, उनले भने, “ आखिर जन्मेपछि मर्नुपर्छ, साथमा केही जाने होइन, यो कुरा मनमा आएपछि घर सल्लाह गरेर जग्गा दान गरेँ ।”

अब चाँडै आफूले दिएको जग्गामा कार्यालय भवन निर्माणको कामले गति लिने र सेवा सहज भएको हेर्ने मन भएको उनले बताए ।

नगरप्रमुख यादवले कार्यालय भवन निर्माणका लागि अब छिट्टै प्रक्रिया थालिने जानकारी दिए। “जग्गा प्राप्त भएको छ”, उनले भने, “भवन चाँडै बन्ने गरी काम थाल्नेछौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर