देउखुरी – घरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ ।

जैविक (गल्ने) फोहोरबाट व्यावसायिक प्रयोजनमा ल्याउने गरी ठूला क्षमताका बायोग्यास प्लान्टले विदेशबाट आयोजित एलपी ग्यास र रासायनिक मलको निर्भरतालाई कम गर्न सकिने भएको छ ।

घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बानेश्वर काठमाडौँको सहयोग र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा स्थापना गरिएको बायोग्यास प्लान्टले यो सम्भावनालाई उजागर गरेको छ ।

करिब रु २४ करोडभन्दा बढीको लागतमा निर्माण भएको सो ग्यास प्लान्टबाट ग्यास उत्पादन थालिएको हो । सो प्लान्टको शनिबार उद्घाटन गर्दै नगरप्रमुख नरुलाल चौधरीले फोहोरलाई मोहरमा बदल्ने योजना सफल भएको बताए ।

जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभन्दा पहिले थालिएको सोचलाई आफूहरुले पनि प्राथमिकताका साथ लिएको र अहिले सफल भएको उनको भनाइ छ ।

गल्ने फोहोरबाट ग्यास र मल उत्पादन गर्ने योजनालाई आफ्नै कार्यकालमा सफल भएको भन्दै उनले गल्ने र नगल्ने फोहोरको छुट्टाछुट्टै व्यवस्थापन गरेर राखिदिन नगरवासीलाई आग्रह पनि गरे।

नगरवासीसँग फोहोर किनेर ग्यास बनाएर नगरवासीलाई बिक्री गर्ने कार्यक्रम रहेको उनले बताए । नगरले गल्ने र नगल्ने फोहोरलाई पुनः प्रयोगमा ल्याएर फोहोर फालिँदै आएको ल्यान्डफिल साइटमा शून्य फोहोरमा झार्ने सोच रहेको बताए ।

गल्ने फोहोरबाट ग्यास उत्पादन भइसकेको अवस्थामा अब नगल्ने फोहोरलाई पनि नागरिकहरूबाट खरिद गरेर बिक्री गर्ने गरी निजी क्षेत्रसँग समझदारीको तयारी भइरहेको जानकारी दिए ।

सरकारी र गैरसरकारी संस्थाहरु बीचको सहकार्यबाट योजना सफल भएकाले यसअघि गाड्दै र फालिँदै आएको फोहोरलाई सदुपयोग गर्न ग्यास प्लान्टले सार्थकता दिने उनले बताए ।

सरसफाइ अभियानले फोहोर चुनौती हैन, अवसर हो भन्ने काम यो प्लान्टले देखाएको उनले बताए । अब किसानले व्यावसायिक पशुपालनमा जोड दिनुपर्ने र गोबरसमेत खरिद बिक्री हुने बताए ।

रु २४ करोड ७६ हजार ७३८ को लागतमा ग्यास प्लान्टको निर्माण भएको नेपाल ऊर्जा विकास कम्पनीका सल्लाहकार कृष्णप्रसाद पोख्रेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो र पहिलो जैविक फोहोरबाट ग्यास उत्पादन हुने परियोजना रहेको उनले जानकारी दिए । यो प्लान्टमा दैनिक ३० टन कच्चापदार्थको आवश्यकता पर्ने र क्षमताअनुसारको कच्चापदार्थ उपलब्ध भएमा एकै पटक दुई हजार घरधुरीलाई ग्यास पुर्याउन सक्ने उनले जानकारी दिए ।

विसं २०७४ देखि प्रक्रिया सुरु गरेको र विसं २०७७ बाट उद्योग स्थापनाको काम थालिएको थियो । बीचमा दुई वर्षको समयमा कोरोना भाइरस सङ्क्रमणका काराण कार्यक्रम भनेको समयभन्दा ढिला हुन गएको उनले बताए ।

पाइपलाइनमार्फत स्थानीयवासीको घरघरमा पु¥याउने कार्यक्रम रहेको छ । मिटरबक्समार्फत ग्यास प्रयोगको मापन हुने उनले जानकारी दिए ।

नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरलाई सफा र स्वच्छ बनाउन फोहोरलाई मोहरमा बदल्ने अभियानले सार्थकता पाउँदै गरेको र जथाभावी फालिँदै आएको फोहोर व्यवस्थित हुँदै गएको बताइन् ।

ग्यास उत्पादनमा मात्रै सीमित नभएको भन्दै उनले यसले फोहोरको उचित व्यवस्थान र नागरिकहरुको स्वास्थ्यमा समेत ठूलो सुधार ल्याउने बताइन्। फोहोरबाट ग्यास, मल उत्पादनसँगै नगल्ने फोहोर खरिदले फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुगेको उनले बताइन् ।

त्यसैगरी, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले फोहोर सङ्कलनलाई थप व्यवस्थित गर्न नगरले समन्वयकारी भूमिकामा ध्यान दिनुपर्नेमा जोड दिए। ग्यास उद्योग गौरवको योजना भएकाले नगरवासी सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल पत्रकार महासङ्घका दाङका अध्यक्ष दुर्गालाल केसीले घोराही उपमहानगरपालिकाले फोहोर व्यवस्थापन र नयाँ सिकाइको कामको थालनी भएको बताए। विभिन्न ठाउँहरुमा फोहोर व्यवस्थापनमा चुनौती देखिरहेको अवस्थामा घोराहीमा फोहोरबाटै मोहर उत्पादनले राम्रो सन्देश दिएको उल्लेख गरे ।

त्यसैगरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका म्यानेजर रणबहादुर थापाले ग्यास उत्पादन कार्यक्रममा चुनौतीहरु धेरै भए पनि सफल आयोजनाका रूपमा स्थापित गर्ने बताए ।

अब नागरिक स्तरमा फोहोर सङ्कलन र व्यवस्थापनको महत्वलाई जानकारी गराउने समेत उहाँको भनाइ छ । उपमहानगरको वातावरण, विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल ऊर्जा विकास कम्पनीका प्रशासनिक अधिकृत शारदा शर्माले गरेकी थिइन् ।

दुई बिघा १२ कट्ठा जमिनमा यसको संरचना निर्माण गरिएको छ । उपमहानगरभित्रका वडा नं १० र १६ मा पाइपलाइन विस्तार गरेर पहिलो चरणमा ५०० घरमा ग्यास जडान गर्ने गरी काम भइरहेको छ । ग्यास प्लान्टले अबको २० वर्षपछि उद्योग घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर