✍️ मन्दिरा मधुश्री

सिमल चौतारोतिरबाट ताल छोडेर आएको मादलको आवाजले धेरैको ध्यान तान्यो । अयोध्यापूरीमा आजसम्म कतै पनि यति मीठो र सुरिलो आवाजमा मादल बजाएको सुनिएको थिएन ।

मन्त्रमुग्ध पार्ने मादलको तालले सबैलाई तानेको थियो । परिचय खोज्दै धेरै मान्छेहरूले घरको सङ्घार काटेर चौतारीतिर पाइला नापिसकेका थिए । साँच्चै नै एउटा अधबैंसे उमेरको मान्छे चौतारीको डिलमा बसेर मादल बजाइरहेको थियो ।

पालैपालो विभिन्न नेपाली गीतको लय र सुरमा ताल मिलाएर बजाउँथ्यो मादल । कहिले झ्याउरे र कहिले चुड्के । साँच्चै नै द्वारिकावासी कृष्णको मुरलीको धूनमा लट्ठ परेजस्तै उसको मादलको तालले पनि अयोध्यापुरीवासीलाई लट्ठयाएको थियो । अलिअलि गर्दै धेरै जम्मा भएका थिए चौतारीमा कौतुहल बोकेर ।

चौतारीमा कुनै नाचगान भएको हो कि जस्तो लागेको थियो धेरैलाई मादलको आवाज सुन्दा । कसैले चाहिँ कुनै संघसंस्था वा बाल क्लवहरूले कुनै सडक नाटक देखाउन थालेका हुन् कि भन्ने पनि सोचेका थिए । तर, त्यो सबै केही होइन रहेछ । त्यहाँ पुगेपछि मात्र थाहा पाए सबैले सत्य कुरा त ।

उसको हुलिया देखेर जो कोहीले पनि सहजै अनुमान लगाउन सकिन्थ्यो–ऊ त एउटा मादल व्यापारी पो रहेछ । मादल बेच्न ठाउँ–ठाउँ र गाउँ–गाउँ घुमेर हिँड्ने । को हो र कहाँको हो, अनि कता कता घुम्दै यस ठाउँमा आएको हो, त्यो कसैलाई पनि थाहा पनि थिएन र चासो पनि । ऊ त मादल बिक्रीका लागि बिज्ञापन गर्दै त्यही मादलमा ताल लगाइरहेको थियो । जुन ताल सुनेर कहिल्यै मादल नदेखेका र नबजाएका मान्छेलाई पनि मादल किनुँ किनुँ लागिरहेको थियो ।

गीत–सङ्गीत र बाजाप्रेमी वा सौखिनहरू मध्ये कसैले मूल्य सोधे । धेरैले आफैंले पनि बजाए, बजाउन खोजे । कसैले एक दुईचोटि बजाएपछि बजाउन आएन भनेर छोडेर हिँडे । कसैले एकचोटि ‘ट्वाङ्ग’पारेर कौतुहल मेटेर हिँडे । कसैले ‘कति महँगो रहेछ, यो मादल किन्ने पैसाले त दश किलो चामल पो आउँछ’ भनेर भोकलाई महत्त्व दिएर हिँडे । धेरैले बच्चाहरूले ‘मादल किनिदिनु न बा’भन्दा ‘फेरि अर्कोचोटि आउँदा है’भनेर अपुरो र झुटो आश्वासनमा थाति राखेर हिँडे ।

तैपनि उसको विज्ञापन भने खेर गएन । उसका दुईवटा मादल बिक्री भए । एउटा आवश्यकताले र अर्को सोखले किन्यो । अर्थात, एउटा मादल त्यही सिमल चौतारी टोल समूहले किन्यो । देउसी–भैलो, भजन–कीर्तन आदिका लागि । अनि अर्को एउटा गाउँकै धनाढ्यले किन्यो जसको आवश्यकता सोखमा बदलिसकेको थियो ।

****

उसको नाम धनबहादुर । ऊबाहेक यो गाउँमा अरु कसैलाई थाहा थिएन । आज ऊ साँच्चैकै नामजस्तै धनी भएको थियो । किनकि उसको सीपले आज पूर्ण सार्थकता पायो । उसको दुईटा मादल एकैचोटि बिक्री भयो ।

बिस्तारै भीड पातलिंदै जान थाल्यो । दुईजना स–साना भुरा उभिएर हेरिरहेका थिए । उसलाई भन्दा पनि उसको बाँकी भएको मादललाई । थुप्रै कौतुहल र जिज्ञासा थियो उनीहरूको आँखामा । त्यसभन्दा पनि बढी रहर पढ्यो धनबहादुरले । आफ्नै भुराको प्रतिबिम्ब देख्यो उनीहरूमा ।

‘मादल किन्ने हो ?’ जिस्काउन खोज्यो उसले ।

‘हो’ एउटाले निर्भीक उत्तर दियो ।

‘खै त पैसा ?’

‘पैसा त छैन ।’

‘पैसा नभए मादल त आउँदैन ।’

‘हाम्रा बाले यत्ति धेरै पैसा लेर आउँछन् नि । अनि त ।’

‘तिमेर्का बा काँ ग’का छन् र ?’

‘आकाशमा पैसा टिप्न ।’

‘आकासमा पैसा हुन्छ त ?’

‘हुन्छ त राति आकासमा हेर्नु नि कति धेरै पैसा देखिन्छ । हाम्रो आमाले भनेको ‘हाम्रो बा त हो त्यै आकासको पैसा टिप्न गाका छन् रे ।’

‘अनि था छ, बाले पैसा लेराएपछि त हामीलाई नयाँ लुगा, जुत्ता केके किनिदिने रे’, अर्कोले उसलाई उछिन्दै भन्यो, ‘अँ अर्कोपालि त हाम्रो बाले पनि सन्ते काजीकोमा काटेजस्तै खसी पनि पो किन्ने अरे बाबै दसैंमा काट्न ।’ छुटेका कुरा एकै सासमा भन्यो ।

उसले अलपक हेर्यो ती भुरालाई । भित्र कतै नमिठो गरी केले चिमोट्यो । अनि सम्झयो उसले केही दिनअघि उसले पनि तिनै तारा देखाउँदै सुताएको थियो आफ्ना भुरालाई । एक डल्लो भात खाएर सुतेको भुरो आधा रातमा व्यूँझिएर सोधेको थियो ‘बा आमा खै ? भोक लाग्यो ।’

‘बाबु, आमा त ऊ त्यो आकाशमा गएकी छे’ चोर औंलाले देखायो ।

‘किन गाकी बा आमा ?’

‘बाबुलाई भोक लाग्यो भनेर चामल लिन ।’

‘बा ! आकासमा चामल हुन्छ र ? चामल त पसलमा पो हुन्छ त हैन ?’

‘हो तर हेर त ऊ त्यो आकाशमा कति धेरै चामल छरिएका छन् । हो त्यही उठाएर ल्याउन गकि क्या । त्यही ल्याएपछि अघाउन्जेल खाउँला ल । एैले चुपो लागेर सुत् ल बाबु ‘ भनेर सुताएको थियो आफ्नो सबभन्दा सानो भुरोलाई ।

उसलाई बुझ्न कति पनि कठिन भएन । ती भुराका बा पनि आफ्नै भुराकी आमाजस्तै कसैले नदेखेको ठाउँमा गइसकेकी छन् । कहिल्यै फर्केर नआउने गरी । उनेर्की आमाले पनि आकाशमा छरिएका तिनै ताराहरूलाई आफ्ना भुराहरूको रहरको झोलीमा हालिदिएकी रैछन् । म पनि त तिनै ताराहरलाई आफ्ना भुराहरूको बटुकीमा सितन पस्कने गर्छु । तर न त यिर्नेलाई थाहा छ उनीहरूका बा आकाशमा छरिएका पैसा बोराभरि टिपेर कहिल्यै फर्कन्नन् । न त मेरा भुराहरूलाई नै ज्ञात छ उनीहरूकी आमा पनि ती आकाशमा छरिएका चामल बटुलेर झोलाभरि लिएर आउँछे कुनैदिन ।

‘एकचोटि मलाई पनि मादल बजाउन दिनु न ।’ अलिक ठूलो चाहिँले बोल्ने आँट गर्यो । तर, सानो चाहिँको पछाडिपट्टि लुकेकोले डराएको छ भन्ने पुष्टि गर्यो ।

‘आइज बाबु यता ला बजा’ ऊ अनौपचारिक नै भयो । उसका भुरा र ती भुरा उस्तै लागेकोले । डराउँदै डराउँदै ठूलोचाहिँ अघि बढ्यो र तीन–चारचोटि ट्वाङ्ग–ट्वाङ्ग पार्योे र खुर्रर अघिकै ठाउँमा गएर उभियो ।

‘तँ पनि आइज बजाउन’ सानो केटोलाई पनि निमन्त्रण गर्यो उसले । फुच्चे नडराई ठमठम आयो र उसले पनि त्यसैगरी बजायो अनि दाजुकै शैलीमा फर्कियो ।

दुवै भुराले मुखामुख गरे । आँखामा एउटा खुशीको चमक दौडियो दुवैको । दुवै दौडँदै भागे युद्ध जितेर आएको योद्धाजसरी । सायद आमालाई पनि भाग लगाउन चाहन्छन् होला आफूभित्रको त्यो खुशी ।

धनबहादुर पनि चौताराबाट उठ्यो र लाग्यो आफ्नो बाटोतिर । घरमा चारजना भुराहरू उसैलाई पर्खेर भाँडो रूँगिरहेका थिए । अरु दिनभन्दा उसले धेरै नै चामल किन्यो । अनि अरु खिस्रिङमिस्रिङ पनि । सबैथोक बोरामा कस्यो । चार पुरिया बिस्कुट किन्न पनि भुलेन । बाबुको काँधमा ठूलै बोरा देख्दा भुराहरु सूर्योदयको डाँडाजस्तै देखिए ।
‘बा बोरामा के हो ?’ सानो अघि सर्यो ।

‘चामल’ सजिलै उत्तर दियो धनबहादुरले ।

‘कल्ले दे को बा, आमाले पठाको हो ?’

उसले पुलुक्क छोराको मुख हेर्यो ,मनले हैन मुखले भन्यो– हो ।

‘आमा चैँ खै त ? नआउने रे ?’ चुप लागेन छोरो ।

‘आउने रे ।’

‘कहिले आउने अरे बा ?’ अघाएन छोरो ।

‘आकाशका सप्पै चामल बटुलिसकेपछि आउने रे ।’

‘ए‘। ‘

छोरो ढुक्क भयो । ‘अब त अलिकति मात्रै बाँकी होला हगि बा यति धेरै पठाएपछि त ।।?’

‘अब अलिकति मात्र बाँकी छ रे । त्यो सबै सकेर छिटै आउने अरे ।’ हात र मुख दुवै नै चलिरहेका थिए धनबहादुरका । बोरा खोलेर सबै खन्याइसकेको थियो । सबैलाई बिस्कुट दियो । कसै–कसैले देको एक टुक्राबाहेक सिंगै बिस्कुट त आजै पहिलोचोटि पाएका थिए भुराले ।

उनीहरुको अनुहार पूर्णेको जूनजस्तै भयो ।

भोलिपल्ट पनि किन किन धनबहादुरलाई त्यही गाउँमा जान मन लाग्यो । हिजोकै चौतारीमा । तर आज उसको उद्देश्य मादल बेच्नु पटक्कै थिएन । आज पनि चौतारीमा मादल घन्क्यो । सबैले मादलको तालको रहस्य थाहा पाइसकेका थिए । किन्नु नै नभएपछि काम छाडी त्यहाँ जानुको के औचित्य रह्यो र ? त्यसैले पनि आज चौतारीमा भीड देखिएन ।

मादल बजाउने अपूरो तिर्सनाले तानेर ल्यायो हिजोको ती भुराहरूलाई । हिजोकै जस्तो भेषभूषा र शैलीमा उपस्थित भए ती केटाहरू । उनीहरूको पहिरनबाट धनबहादुरले सजिलै अनुमान गर्यो – आफू र आफ्नो भुराहरू जस्तै यिनीहरू पनि गरिबीको त्यही पराकाष्ठामा जीवन यापन गरिरहेका छन् ।

‘बाबुबिना यी भूरा हुर्काउन कति कठिन होला यिनेर्की आमालाई’ मनमनै सोच्यो उसले । झोलाबाट हिजोसँगै किनेर ल्याएको बिस्कुट दियो दुवै भुरालाई । तर, मुखामुख मात्र गरे दुवैले आश्चर्य भर्दै आँखामा । फेरि बोलायो उसले टाउको हल्लाएर । ठूलोले सानालाई अगाडि ठेल्यो ‘तँ जा’ को भावमा । सानो केटो हिजोकै शैलीमा ठमठम गयो र समात्यो बिस्कुट अनि आफ्नै ठाउँमा गएर उभियो हक्की र निडर भावमा ।

डराएजस्तो देखिने ठूलोलाई सोध्यो उसले हातले बिस्कुट देखाएर, ‘नखाने ?’

दुवैको बिस्कुट खोलेर खाने आँट नदेखेर सोध्यो धनबहादुरले, ‘खै त खाएको ?’

‘घरमा गएर आमासँगै खाने’, सानोले मुख खोल्यो ।

‘तपैँ हाम्रो बा हो ?’ ठूलो भुराले भाइ पछाडि लुक्दै काँधनेरबाट टाउको मात्र निकालेर सोध्यो ।

‘किन र ?’ अनौठो मान्दै बोल्यो धनबहादुर ।

‘अस्ति न आमालाई एउटा सिंगै बिस्कुट किन्देउन आमा भन्दा बा’ले लेराउँछन् भनेको भएर ।’

फेरि चरक्क गर्यो उसको छाति । एकक्षण ऊ कताकत टोल्हायो । अनि गोजिमा हात हाल्यो र हिजो सामान किनेर बाँकी बचेको पैसा झिकेर उनीहरूतिर बढाउँदै भन्यो ‘लौ यो पनि आमालाई लगेर दिनु ल ।’

भुराहरू दौडँदै ओझेल भए । अनौठो खुसी सङ्गालेर मादल बजाइरह्यो उसले । हिजो मादल बेचेर गोजीभरि पैसा राख्दाभन्दा पनि खुसी थियो उसको मन आज ।

उसलाई थाहा थिएन, उसको मन आज किन यति खशी भाको हो । ऊ आँखा चिम्लेर त्यसै खुसीमा मादल बजाइरहेको थियो । एक्कासी उसको कानमा ठोक्कियो आवाज ।

****

‘आमा ऊ हेर त हाम्रा बा ।’

झसङ्ग भयो ऊ । आवाजसँगै खुले उसका आँखाहरू पनि । एउटी आइमाई उभिइरहेकी थिई । दुइतिर तिनै दुई भुराहरूले उसको हात समातेका थिए । उसको आँखामा अनौठो भाव थियो । सबैखालको एकै ठाउँमा मिसिएजस्तो ।

भुराहरुबाट उसको वास्तविक परिचय त पाइसकेको थियो । बाँकी उसको हुलियाले नै दिन्थ्यो । सिधै सोध्यो– ‘मेरो नाम धनबहादुर, तिम्रोचाहिँ के ?’

आफूभन्दा सानैजस्तो लागेकेले औपचारिकतामा पनि गएन ऊ ।

‘लक्ष्मी’ उसले पनि बिस्तारै भनी ।

‘मेरो पनि यिनीहरू जस्तै भूरा छन् । यिर्नेलाई देख्दा आफ्नै ती भुराजस्तै लागेकोले देको बिस्कुट’ लक्ष्मीको कुनै प्रश्न आउनुभन्दा अघि नै जवाफ दियो उसले ।

‘अनि पैसा’ लक्ष्मीले आँखा गाडी धनबहादुरमाथि ।

‘म पनि मेरा भुराहरूलाई अँध्यारोमा चम्किने तिनै ताराहरुको सितन बटुकामा हालेर अघाउन सिकाउँछु तिमीले जस्तै । यिर्नेका बाजस्तै मेरा भुराकी आमा पनि त्यही ताराको बिस्कुन उठाउन गएकी छे ।’ भावुक बन्यो ऊ ।

दुवै केही बोलेनन् ।

‘आमा ! बालाई पनि हाम्रै घरमा लौजाउँ न । अनि त सँधै बिस्कुट पनि खान पाईन्छ’ सानोले आमाको मुख हेरेर हातले झक्झक्यायो ।

‘आकाशका सप्पै पैसा पनि बटुलेर लेराकाछन् बाले ऊ त्यो बोराभरि’ उसको बोरा तिर देखाउँदै भन्यो ठूलेले ।

‘अब बा आएपछि त सन्ते काजीकोमा काटेजस्तै यत्रो ठूलो खसी पनि काट्ने हगी आमा अर्को दसैंमा त ।?’ सानोले थप्यो । फेरि आँखा जुध्यो दुवैको । छोराको कुनै उत्तर नदिई कपालमाात्र मुसारिरही दुवैको लक्ष्मीले ।

‘तिमी यिनेर्को बा बन्देउ न त’ नै औपचारिकता देखाइन उसले । न त कुनै अप्ठ्यारो नै मानी । उसलाई लोग्ने कम र भुराहरूलाई बाबु चाहिएको थियो बढी मात्रामा । त्यसैले हार्दिकता बढी नुहेको थियो उसको आग्रहमा ।

‘तिमी पनि मेरा भुराकी आमा बन्ने भए मात्र ।’ धनबहादुरले पनि अनौठो मानेन लक्ष्मीका कुरा । शर्त राख्यो उसले पनि । सकारात्मक भावमा टाउको मात्र हल्लाई लक्ष्मीले पनि । दुवै मुखामुख गरेर चूप लागे निकैबेरसम्म । दुवैको बाध्यता एउटै । आवस्यकता उस्तै र कथा व्यथा पनि समानान्तर थियो । दुवैको सहमतिमा जीवन पूरक बन्न सक्थ्यो ।

लक्ष्मी भूरा लिएर अघि लागी । झोला र मादल बोकेर धनबहादुर पछि लाग्यो । बेलुका पख धनबहादुरले बिरालाले छाउरा सारे जस्तै गुँड सार्यो आफ्ना भूरालाई लक्ष्मीको झुप्रोमा । धनबहादरको सानो भुरोले लक्ष्मीलाई छाँद हाल्दै भन्यो– ‘बरु म भोकै सुत्छु भोक लाग्यो कहिल्यै भन्दिनँ तिमी पनि त्यो आकाशको चामल टिप्न अब कहिल्यै नजाउ है आमा ।’

थाम्न सकिन लक्ष्मीले पनि आफूलाई । उसको मातृवात्सल्य पग्लेर छताछुल्ल भयो । चारैवटा भुरालाई छाँदहाली उसले । कुखुराको पोथीले जस्तै ।

लक्ष्मीको घर ऐलानी जग्गामा नै भएपनि धनबहादुरको भन्दा अलिक बढी अस्तित्वको थियो । त्यसैले लक्ष्मीकै घरमा भित्रियो धनबहादुर आफ्ना भुरासहित । परिवार र दायित्व बोझ बढेपनि धन सम्पत्ति र गरिवीको पराकाष्ठामा बाँच्नु परे पनि दरिद्र ‘लक्ष्मी र धन’ खुसीका धनी देखिए ।

दुई छाक टार्न पनि धौधौ हुने लक्ष्मीले आफूजस्तै भुराबाहेक केही नभएको धनबहादुरलाई भित्र्याउँदा गाउँलेले धिक्कारे । खोज्नै परेपछि त अलिक गतिलो र हुनेखाने त खोज्नु नि भने धेरैले । तर के थाहा उनीहरूको वाध्यता र आवश्यकता अरुलाई । गाउँकै धेरै भालेहरू लक्ष्मीका वरिपरि नघुरेका पनि हैनन् । तर, सबै लक्ष्मीको ‘पोइ’ बन्न मात्र खोज्थे भुराका ‘बाबु’ हैन । त्यसैले पनि लक्ष्मी चनाखो भइरही पोथीमा आशक्त भालेले बचेरालाई ठुँगेर नै भगाउँछन् भन्ने । त्यसैले त कङ्गाल नै भए पनि धनबहादुर जस्तो ‘बाबु’स्वीकार्न तयार भई लक्ष्मी ।

मिलाउन सके संसारमा सबै भन्दा मिल्न सक्ने कुरा मन रहेछ । मन मिल्यो भने बाँकी यावत कुरा आफैँ नतमस्तक हुँदो रहेछ । सबैभन्दा ठूलो मन मिलेको थियो धन र लक्ष्मीको पनि ।

मनको धनी धनबहादुर अब त्यस गाउँको बटुवा नभएर गाउँले भयो । गाउँको जिम्मेवार नागरिक । चाँढै सबैको मनमा बस्यो । मादलको पर्यायवाची बन्यो ऊ । मादल भन्दा धनबहादुर र धनबहादर भन्दा मादल बुझ्थे सबैले । सीप कला र जाँगर भएको धनबहादुरले लक्ष्मीको मात्र हैन सबै गाँउलेको नै मन जितेको थियो सजिलै । सुरुमा लक्ष्मीको घरमा भित्रँदा गाउँले सामु अनेक परीक्षा दिनुपरेतापनि । इमान्दार र कर्मयोगी सँधै सफल हुन्छन् भन्ने परिचय थियो ऊ ।

धनबहादुरले जतिसुकै धनको अभाव भएपनि त्यो मादल चाहीँ कहिल्यै बेचेन । जुन मादल भुरा हुँदै लक्ष्मीसँग सम्बन्ध स्थापनामा सहायक भएको थियो । अधुरो परिवार पूर्ण भएको थियो ।

धनबहादुका भुराले ‘आमा’ र लक्ष्मीका भुराले ‘बाबु’ भेटाएका थिए । आफ्नो भएपछि त भुराहरुले पनि धित मरुन्जेल बजाउन पाएका थिए मादल । सँधै बेलुका धनबहादुर पनि त्यही मादलमा ताल लगाउँथ्यो धेरैबेरसम्म ।

गाउँभन्दा अलि पर खोल्सो पारि कुइनेटोको एैलानी जग्गामा बनेको लक्ष्मीको घर एक्लै थियो ।

भर्खरै गएको हिउँदमा धनबहादुर निकै बिरामी पर्यो । झण्डै दुई महिना जति ज्वरोले थलियो । त्यसपछि पनि कमजोरीले गर्दा काम गर्न सकेन । उसलाई हिउँदभरी जंगलबाट काठ ल्याएर जोहो राख्नुपथ्र्यो । वर्षा लागेपछि घरैमा बसेर मादल बनाउनुपर्ने । बिरामी सेवा र भुराप्रतिको दायित्वले लक्ष्मीले पनि बनिबुतो गरेर धेरै जोहो गर्न सकिनँ । वर्षा त जसरी तसरी बनिबुतोमै टर्ला तर वर्षाको लगत्तै आउने दसैं दशा पो बन्ने हो कि ? यस्तै पीरले हुरुक्क बनाउँथ्यो धनेलाई । रोगले छोडेता पनि ।

त्यही दसैंमा त हो नि भुराको अनुहार भरि ढकमक्क गुराँस फुल्ने भनेको । नयाँ लुगा लगाउने र मीठो मासुभात खाने निस्तो रहरको बटुकीमा त्यही दसैंको मीठो सितन पस्किने त हो नि हामी गरीबहरुले भुरालाई । त्यही सितनलाई आफ्ना चुहुने अञ्जुलीमा उभाएर कलिला औँलाहरूमा छताछुल्ल पार्दे आफ्ना रहर फक्रने दिन गन्दै बस्छन उनीहरू । आफ्ना भुराहरको रहर फक्रने दिन कसरी पो आउला र खै ? यसतै सोचेर बेला बेला कता कता टोल्हाउँथ्यो धनबहादुर । बाबु हुनुको जिम्मेवारी र दायीत्व बोझ अनि आफ्नो अशक्त शरीर । चीसो बनाउँथ्यो उसलाई घरिघरी यस्तै सोचाईले ।

गरीबका हातपाखुरा जति मात्रामा चल्छन् त्यति नै बराबर मात्रामा चल्छन् डाडुपन्यु पनि । वर्षा जेनतेन कट्यो धन–लक्ष्मीको । अलिअलि जोहो गरेको पैसो पनि ओखती–मुलोमा बाँडियो । अब उनीहरूको भौतिक वा चल अचल सम्पत्ति भन्नु् त्यही चारजना भुरा मात्र थिए । ‘धन’ र ‘लक्ष्मी’ त उनीहरूको नाममा मात्र सीमित थियो । नामको सार्थक बनाउने उनीहरूसँग न त धन नै थियो न त लक्ष्मीको वास नै । तापनि सुखी र खुसी नै देखिन्थे उनीहरू ।

धन–लक्ष्मी दसैं भरसक नआवोस् आउनै परेपनि अलिक ढिलो आए पनि हुन्थ्यो भनेर असम्भव कल्पना गर्थे । उता भुरा भने ‘दसैं छिट्टै आउनु नि बरु सँधै दसैंमात्र आउनु नि’ भन्ने प्राथना गर्थे । आफूलाई नभए पनि भुरालाई त दसैं भित्राउन पाए हने थियो । तर, केले पो भित्राउनु दसैं । अहँ ! धनबहादुरलाई कुनै उपाय सुझेन । उता दसैं भने भित्रिसकेको थियो ।

धनबहादुर साँझमा सँधै त्यही मादल बजाउँथ्यो । सुखमा पनि दुःखमा पनि । जुन मादलले उसलाई पारिवारिक सम्बन्ध जुटाउन सहयोग गर्यो । त्यही मादलमा बजेको तालको माध्यमबाट चित्रण हुन्थ्यो उसको मनोदशा ।

बाहिर दसैंको रमाइलो भित्रिसके पनि उसको आङमा भने घाम लागेकै थिएन । ऊ त्यही मादल एकोहोरो बजाएर बसेको थियो दिउँसै । घाँटीमा एउटा ओखरको दाना जत्रै के हो अड्किएजस्तो भइरहेको थियो कति दिनदेखि । तर, मादल बजाउँदा बजाउँदै एक्कासी त्यो निलेजस्तै सन्च भयो । झिलिक्क भयो उसको अनुहारभरि खुसी । एकैक्षणमा फेरि अमिलो भएर आयो उसको मन । बोकिराखेको मादललाई एकक्षण्सम्म सुम्सुम्यायो । र भुरालाई जस्तै च्याप्यो एकचोटि । अनि किलामा झुण्ड्याइरहेको अस्कोट निकाल्यो त्यसको गोजीमा राखेको ढाका टोपी निकाल्यो र तानतुन पारेर लगायो । अस्कोट पनि भिर्यो र त्यही मादल टिपेर निस्क्यो बाहिर ।

आँगनको डिलमा बसेर भाँडा मस्काइरहेकी लक्ष्मीले उसको आशय बुझेर अँध्यारो मुख पार्दै बिस्तारै भनी, ‘त्यतिले त के पो आउँछ होला र खै ?’

‘जति आए पनि त भुरालाई पुगे त भै गो नि’ लक्ष्मीतिर नहेरी नै भन्यो उसले ।

‘बा काँ गका आमा ?’ सानो चाहिँ भुरोले कुद्धेर आमा छेउमा आएर सोध्यो ।

‘दसैं लिन’ आमाले सटिक तर सही उत्तर दिई ।

दसैंको आ–आफ्नै आवश्यकता र चटारोमा कसलाई मादलको खाँचो र ? त्यसमा पनि त्यो गाउँमा मादलको महत्त्व र आवश्यकता बुझ्ने पो कति नै थिए र ? त्यसैले यसपालि ऊ शहरतिर हानियो ।

दसैंको मुखमा भनेजति भाउ त कस्ले पो देओस् र । तै पनि बिक्री भयो उसको मादल । भुराहरू जस्तै खुसी देखियो ऊ पनि । भुरालाई नयाँ लुगा र मासुभात नखाइकन त के थाहा हुन्छ र दसैं भन्ने कुरा ।

बेलुका धनबहादुरको काँधमा पोको देखेर सोनोले सोध्यो ‘के हो बा झोलामा ?’

‘दसैं’ सजिलै बोल्यो धनबहादुर ।

‘दसैं पोको बनाएर ल्याउने हो बा ?’ फेरि सोध्यो भुरोले ।

उसले पोको खोलेर सबै भुरालाई एकएक वटा टिसर्ट नाप्नको लागि भनेर लगाउन दियो दसैंमा लगाउने भनेर । नयाँ पेन्टचाहिँ पछि जाडोमा हालिदिने आस्वासन बाँड्यो उसले । दङ्ग देखिए भुरा । सबैको मुख मण्डलमा खुसी फक्रियो ।

उसले पुलुक्क लक्ष्मीतिर हेर्यो । आशावादी भएका उसका आँखा । आफ्नो भाग नभएकोमा खिन्न भएजस्तै थिए ।

धनबहादुरले आफूले ल्याइदिएको उसको भाग दिँदै भन्यो, ‘लेउ तिम्रो पनि दँशै ।’

दङ्ग परी ऊ पनि । फितावाल चप्पल हातमा समाउँदा चम्किलो भयो उसको मुहार । धन पटि हेरेर आँखैको भावले कृतज्ञता ज्ञापन गरी । गदगद् भयो धनबहादुर । मनमनै भन्यो ‘केटाकेटी नै त छ नि यो पनि बिचरा ।’

मासुभात र नयाँ लुगा यत्ति त हो नि दसैंको अप्ठेरो भनेको । जेसुकै होस् भुराहरूको आङले नयाँ स्वाद फेर्ने भकै थियो । अब मुखको स्वादको जोहो गर्नु थियो । तर, खै केले पो गर्नु उपाय सुझेको थिएन उसलाई ।

सप्तमीको दिन धनबहादुरले आफूसँग पैसा नभए पनि उधारोमा मासु बन्दोवस्त गर्ने सुरले गाउँ छिर्यो एकबिहानै । अहँ दसैंको मासु त्यो पनि उधारोमा, कसैले पत्याएनन् उसलाई । भरोसा पनि गरेनन् उसको श्रम र सीपलाई । उसलाई दसैंको गर्जोमात्र टार्नु थियो त्यो पनि भुरालाई एकछाक भएपनि भरपेट मासु खुवाउनु थियो । दसैं पछि त उसले सके, जानेको श्रम र सीप लगाएर जे काम गरेर भए पनि कर्जा तिर्ने थियो ।

अहँ कतिसँग अनुनय विन्ती गर्दा पनि पग्लिएन कसैको मन । धेरैले उसलाई भने ‘कुकुरलाई मासु पैंचो दिएर उठ्छ कतै ? यस्ता कंगालले केले तिर्छ भन्ने विस्वासले दिनु, आफ्नो मासु काटेर तिर्नु भएन ।’

उसलाई त मासु मात्र चाहिएको थियो । खसी वा कुखुरा रोजाइको पनि हैन । बरु राँगा भए सस्तोमा आउँथ्यो अरुभन्दा ।

तीन किलो राँगाको मासु वा त त्यो किन्ने जम्मा एघार सय रुपैयाँ । यति सोचेको थियोे उसले दसैंलाई ।
उसले गाउँपालिका कार्यालय वा अध्यक्ष वा त त्यस गाउँमा भएका सबैखाले अफिस कसैसँग बिन्ती बिसाउँदा पनि उसको मर्म बुझेनन् । कसैले पनि धनहादुरको खाँचो पूरा गरेनन् ।

घरको आँगन नटेक्दै सानो चाहिँ दौडँदै आएर हात समातर झट्कार्दे सोध्यो, ‘बा हाम्रो घरमा खसी कहिले ल्याउने ।।?’

‘भोलि’ बिस्तारै बोल्यो धनबहादुर । बाबुको पीडाबाट बेखबर ऊ उफ्रँदै दाई दिदीको हुलमा मिसिएर कराउन थाल्यो, ‘भोलि त हाम्रो घरमा पनि खसि ल्याउने’ एकसुरमा गाउन थाले भुरा मालश्रीजस्तै ।

उसको अँध्यारो मुख देखेर सजिलै अनुमान लगाई लक्ष्मीले । बिस्तारै उसको छेउमा आएर ‘यो आमाले मलाई दाइजो दिएको थियो । सधैं यो चलाउँदा आमालाई नै सुम्सुम्याएजस्तो लाग्थ्यो । लेउ यो लैजाउ र बेचेर जति आउँछ त्यति लेराउ ।’ एउटा थोत्रे थाङनामा बेरेको सिलौटो दिँदै भनी लक्ष्मीले ।

दसैंमा कसलाई खाँचो र सिलौटोको । तैपनि उसले धेरै ठाउँमा अनुनय–विनय गर्योे । उसको खाँचो साँचो थियो । अनिवार्य थियो । तर, अरुलाई त्यही कुरा हाँसो मात्र थियो । त्यसैले कसैले पनि उसको खाँचो पूरा गर्नै चासो देखाएनन् ।

बल्लबल्ल एउटाको मन पग्लियो र दया गर्यो उसमाथि । उसले खुशी हुँदै एक किलो बोइलर किन्यो । उसलाई एउटा सानो बोतल भए पनि रक्सी किन्न मन थियो । जातले नै पाए पनि धेरै भएको थियो रक्सी नचाखेको । दसैंको मासुमा त अलिकति चाख्नुपथ्र्यो सगुन । तर , उसको इच्छामा मात्र सीमित रह्यो त्यो ।

बेलुका धन–लक्ष्मीको घरमा पनि दसैं आयो । भलै त्यो दसैं अरुको जस्तो नभएपनि । छ जनाले बाँडी मासु–भात खाएर दसैं मनाए । तर, तृप्तता भने कसैको आँखामा पनि देखिएन । मासुको भोक सबैको आँखामा जिवितै देखिन्थ्यो ।

धन–लक्ष्मीको घरमा बेच्न सकिने वा भौतिक वस्तु केही पनि त थिएन । केवल छ जना छोराछोरी र आफ्नो इमान अनि इज्जत ।

तीन किलो राँगाको मासुमा नबिकेको धनबहादुरको त्यो किनेर ल्याउने विकल्प पनि थिएन । लक्ष्मीले आश्वासन दिँदै भनी ‘किन त्यति सारो पीर गर्छौ नानीको बा, भोलि म जान्छु नि गाउँतिर । कसैको मन पग्लिहाल्छ कि आइमाईको अनुरोधमा ।’

बेलुका मासुभात खाने आश्वासनमा बिहान भुराहरूलाई भुल्याई लक्ष्मीले । दिउँसो ऊ गाउँ पसी । भुराहरू आमा गएको बाटो नापिरहे मासुको आशमा ।

बेलुका लक्ष्मीले नभन्दै मासु लिएर आई । मासु ल्याउन सकेकोमा खुसी मिश्रित केही गहिरो पीडा पढ्यो धनबहादुरले उसको अनुहारमा । दंग भएर पेटभरि खाए भुराहरूले मासुभात । बल्ल दसैंजस्तो देखियो धनबहादुरको घरमा पनि । तर, उसलाई कताकता आफूले मासु ल्याउन नसकेकोमा हीनताबोध र लक्ष्मीप्रति गर्व थियो ।

राति बिस्तारै लक्ष्मीलाई आफूतिर फर्काउँदै सोध्यो धनबहादुरले, ‘भन त लक्ष्मी कसरी ल्यायौ मासु ?’

अनकनाएजस्तै भई लक्ष्मी । ‘के बेच्यौ त आखिर तिमीले ? यत्रो मासु आउन सक्ने के नै थियो र तिमीसँग ?’

दलिनतिर आँखा अड्याउँदै उत्तर दिई लक्ष्मीले, ‘मासु ‘

‘मासु ।’

झसँग भयो धनबहादुर ।

‘हो मासु मेरो मासु १’

सोधेन धनले शब्दमा । आँखाले मात्र सोध्यो ‘कसरी ?’

‘घर हुनेले घर बेच्छन् । जग्गा हुनेले जग्गा जमीन बेच्लान् । सुनचाँदी हुनेले सुनचाँदी बेच्लान् । जोजोसँग जे छ, त्यही बेच्छन् अनि आफ्नो अभाव र खाँचो टार्छन् । मैले पनि मसँग जे थियो, त्यही बेचेँ भुराहरूको भोक मार्न । के गल्ती गरेँ र मैले ?’

दृढ देखिई लक्ष्मी । कुनै पश्चाताप र हीनताबोध थिएन उसमा । अनुहारमा गर्व थियो ।

अमिलो भयो धनेको मन । धिक्कार्यो उसले आफूलाई । आफ्नो लोग्नेपनलाई । पुरुषलाई । त्यस्तो पुरुष, जस्ले जाबो तीनकिलो मासु किन्न सकेन । लक्ष्मीको भुराको बाबु बनेर भित्रिएको थियो त्यो घरमा । तर, आज कहाँ निभाउन सक्यो र बाबुको दायित्व र जिम्मेवारी ? न त लक्ष्मीको लोग्ने भएर नै रोक्न सक्यो लक्ष्मीलाई बेचिनबाट ।

उसले सोच्यो– ‘आइमाईको कुहिसकेको वा टुक्राटुक्रा मासु पनि किन्ने बगरेहरु छ्याप्पछ्याप्ती भेटिन्छन् । तर, लोग्नेमान्छेको सिंगो शरीर वा फल मासु पनि बिक्न गाह्रो रहेछ ।’

एकक्षण अघि मीठो मानीमानी खाएको मासु पनि उसलाई लक्ष्मीकैजस्तो लाग्यो । ऊ अझै लल्याकलुलुक भयो । कुखुरो नबास्दै बाहिर निस्केको धनबहादुर भात खाने बेलासम्म पनि आएन ।

दिउँसोतिर घर पछाडिको नासपातीको रुखमा लौकाजस्तै तुन्द्रुंग झुण्डिरहेको भेटे सबैले ।

****

धनबहादुरको गरिबी अभाव र दुःख स्वभाविक थियो । तर, उसको मृत्यु अस्वभाविक थियो । दुर्घटना भएपछि छानविन, मुचुल्का, पोष्टमार्टम हुनैपर्छ । नियम र कानून नै यही हो । उसको लाश पनि पोष्टमार्टम गर्नका लागि गाउँबाट पचास किलोमिटर टाढाको अस्पताल लैजानुपर्नै भयो ।

लाश अस्पताल लैजान, पोस्टमार्टम गर्न र फेरि घरैमा ल्याउनको लागि लाग्ने खर्चको जोहो गाउँलेले नै गरिदिए । गाउँपालिकाले चार हजार, उपभोक्ता समितिबाट तीन हजार, गाउँलेहरूले पाँच हजार र गाउँपालिका अध्यक्षबाट तीन हजार गरी जम्मा पन्ध्र हजार लक्ष्मीका हातमा हालिदिए ।

लक्ष्मीले हातमा पैसा खेलाउँदै धनबहादुरको लाश तिर हेर्दै भनी ‘यो पन्ध्र हजारमध्ये एक हजार मात्र हिजै भेटेको भए तिम्रो यो गति हुने थिएन । नत मैले नै आफ्नो (अमूल्य अस्मितालाई) सिंगो शरीरलाई तीन किलो राँगाको मासुका लागि नै बिक्री गर्नुपथ्र्यो ।’

‘यी हेर त ! हिजो एक हजारमा नबिकेको तिम्रो जिउँदो शरीर आज मरेपछि पन्ध्र हजारमा बिक्यो नि नानीको बा !’

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर