✍️ एलबी क्षेत्री

नीलम कार्कीद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’को समीक्षाको कुरा गर्ने हो भने मलाई लाग्छ पुस्तकको आरम्भमा छक्कबहादुर लामाले लेख्नु भएको मन्तव्य र उपन्यास समाप्त गरेपछि लेखिका निहारिकाको व्यक्तिगत च्याप्टर ‘म आएँ’ पर्याप्त छन्।

‘द्रौपदी अवशेष’ कुन परिवेशमा लेखिएको कृति हो ? किन लेखिएको हो ? आवश्यकता किन पर्यो ? लगायत त्यस क्षेत्रको भूबनोट, बहुपति विवाह संस्कृतिबारे छक्कबहादुर लामाजीले दिनु भएको जानकारी पर्याप्त छ। उनी लेख्छिन्, – ‘…मानव सभ्यताको उद्विकासका क्रममा विकसित विविध विवाह प्रथा मध्यको यस पौराणिक पाण्डव वा द्रौपदी विवाहको अवशेष यस दुर्गम तथा पवित्र तीर्थस्थल मानसरोवरको छेउ उत्तरी हुम्लामा पाइनु अनौठो भने होइन।’

यस्तै ‘म आएँ’मा समीक्षात्मक शैलीमा नीलम कार्की लेख्छिन – ‘हाम्रा कति लोक सांस्कृति लोप भएर गए। कति दिनानुदिन लोप हुने क्रममा छन्। नेपालको उच्च हिमाली भेगका केही भागमा रहेको बहुपति विवाह संस्कृति आख्यानीकरण हुन् जरूरी सम्झियो मेरो मनले पनि।’

मेरो पाठक प्रतिक्रिया

कुनै व्यक्ति वा वस्तुसँगको पहिलो भेटमा पहिलो प्रभाव दिने, त्यसको स्वरुप र बोली नै हुन्। कुनै पुस्तकको स्वरुप भनेको बाह्य आवरण र शिर्षक नै हो।

‘द्रौपदी अवशेष’ र निलम कार्कीलाई जोडेर सम्झन खोज्दा ‘चीरहरण’को सम्झना आयो। महाभारतको कथा याद आयो। चीरहरणमा महाभारतका दिग्गज पुरुष पात्रहरूलाई साक्षी राखेर महाभारतकै नारी पात्रहरूका मन्तव्य याद आयो। मलाई लागेको थियो उपन्यासमा द्रौपदीले भोग्नु परेका पीडाको निरन्तरता होला। प्रस्तुति फरक छ तर ‘द्रौपदी अवशेष’ द्रौपदी पीडा नै हो।

जसरी छक्कबहादुर लामाजी भन्नुहुन्छ – “…संसारबाट विलुप्त, दुर्लभ र प्राचीन महाभारतकालीन द्रौपदी (बहुपति) वैवाहिक प्रथा उत्तर हुम्ला जस्तो अति दुर्गम हिमाली क्षेत्रमा पाइनुले अन्यथा अर्थ राख्दैन।”

फेरिपनि मलाई लाग्छ एउटा महिला एक भन्दा बढी पुरुषको भोगिनी बनेर बस्नु संस्कृतिको आडमा होस् या आर्थिक व्यवस्थापनसंग जोडिएको होस् वा कालान्तरदेखि चल्दै आएको परम्परा होस् यो क्रूर परम्परा र अव्यक्त नारी पीडा नै हो।

क्रमशः म आवरण पल्ट्याएर पुस्तक भित्र छिर्न थाल्छु। आरम्भमै पेमा भेटिन्छिन्। भन्छिन् – “मलार्इ पनि साथै लैजा है।’ आहा कति सुन्दर प्रारम्भ ’ अंग्रेजीमा एउटा भनाई छ – ँष्चकत ष्mउचभककष्यल ष्क तजभ बिकत ष्mउचभककष्यल। मैले ठम्याएँ। अवश्य नै यो उत्कृष्ट कृति हो।

नीलम कार्कीका अन्य उपन्यास पढेको अनुभवले भन्छ उनी विशेष उद्देश्य लिएर नै आख्यान लेख्छिन्। लेख्नका लागि मात्र लेख्दिनन् उनी। पाठक र नेपाली साहित्यको माग अनुसारको कथा वस्तुसंगै उनको उद्देश्य समाजमा देखिएका विकृतिजन्य मुद्दामा उपन्यास मार्फत बौद्धिक बहस नै रहन्छ। यसरी मुद्दाको रूपमा उठाइएका प्रश्नहरूको आफ्नै अस्तित्व वा सौन्दर्य हुन्छ, जसलाई सुन्दर प्रस्तुतिले नै न्याय गर्न सक्छ। उपन्यासमा मिहिनेतका साथ बडो मिहिन तरिकाले गरिएको दृश्य सम्पादन नीलम कार्कीको विशेषता हो। उनको क्राफ्टिंग स्किललाई सलाम गर्नैपर्छ।

यस उपन्यासमा नीलमले दुर्गम जिल्ला हुम्लाको पनि अति दुर्गम उत्तरी भेगको ग्रामीण परिवेशमा रहेको चलनलाई नै कथावस्तु बनाएकी छन्। यी क्रम पढ्दैगर्दा पाठकलाई लाग्न सक्छ कि उनी कथा भन्दा त्यो ठाउँको समाज शास्त्रीय अध्ययन गर्दैछिन्। उनी कुनै प्राचीनकालीन सभ्यताको इतिहास पढ्दैछिन्। हामी शासकको इतिहास पढ्नमा रुची राख्छौं। ‘द्रौपदी अवशेष’ जनताको इतिहास हो। नेपालले इतिहासमा धेरै काम गर्न बाँकी छ। निहारिका उपन्यासलाई माध्यम बनाएर यो अपूर्व काम गरिरहेकी छिन्।

‘द्रौपदी अवशेषु को मुख्य पात्र को होला रु म अलमलमा छु। चुलो सर दिग्विजयरु उ त मात्र कथा वाचक जस्तो लाग्छ। ग्याल्जन रु उ महाभारतको संजय जस्तो छ, किनकी उसको आँखाले नै पाठकले उत्तर हुम्ला जस्तो अति दुर्गम हिमाली क्षेत्रको कथा, व्यथा, परम्परा र संस्कृति बुझ्छन्। पेमारु लाग्छ पुरै उपन्यास पेमाकै वरिपरी घुमिरहेकोछ। एउटा अचम्मको पात्र जसलाई सबैले खुब माया गर्छन। उसको पीडामा सबै दुखी हुन्छन। मलाई लाग्यो स्वयं दिग्विजय पेमालाई प्रेम गर्न थाल्छन्। पेमा धेरै राम्री छिन्।

दिग्विजय भन्छन – “अरु सिंगारपटार त केहि थिएन। मात्र नुहाएर स्निग्ध थिई ऊ – अझै बढी सुन्दर देखिएकी । गाला राता र पोटिला अनि गोरा छाला चम्किएका । पेमाको नकोरेको कपाल, नधोएको अनुहार पनि कति स्निग्ध। कृत्रिमता थिएन त्यहाँ। थियो –सुन्दरता, निश्छलता अनि कोमलता।”

‘द्रौपदी अवशेष’को कथा के हो त ? यस उपन्यासमा कथा भन्दा पनि कथावस्तुको अध्ययन अनुसन्धान पाइन्छ। हिमाली दुःखको कथा पाइन्छ। तर कथै नभएकोपनि होइन। सबै भन्दा पवित्र यो प्रेमको कथा हो। ग्याल्जन र पेमाको प्रेमको कथा। ‘मैले पेमाको नाम सुनपाती राखेको छ्र’ ग्याल्जन–पेमाको प्रेम कथामा बहुपति प्रथाको विरुद्ध विद्रोहको कथा पनि छ। लाग्छ त्यो भेगका युवा यस परम्पराबाट मुक्ती पाउन चाहन्छन्। किनकी यस प्रथाका केहि सकारात्मक पक्ष होलान् तर यो विकृतिपूर्ण कुरीति परम्परा हो।

ग्याल्जनले स्वीकार गर्छ – “न छाड्न्या थिएँ, न कोहीसंग बाँड्न्या थिएँ, उसलाई ।” यस अभिव्यक्तिमा उसको बहुपति परम्परा विरुद्धको असहमति र विद्रोह बोलिरहेको छ।

विश्वमा धेरे ठाउँ छन् हामी पुग्न नसकेको। आफ्नै देशको धेरै ठाउँमा हामी पुगेका छैनौ। धेरै संस्कृतिबारे पढेका छैनौ। कर्णाली पुगेर त्यहाँको आञ्चलिक सौन्दर्यबारे अनुभव लिने मेरो ठूलो धोको थियो। नजिकबाट ग्रामीण आत्मियता महसुस गर्न चाहन्थें। त्यहाँको प्राकृतिक सौन्दर्यमा रम्न चाहन्थें। नेपालको भूगोल सानो भएता पनि समाज विशाल छ, हामी सामाजिक प्राणी घुमन्ते चरित्र र प्रत्यक्ष अनुभवको इच्छा राख्छौं नै। तर त्यहाँ त हिडेर जानुपर्छ भन्ने जानकारी प्राप्त भएकोले असम्भव प्राय छ मेरालागि। ‘द्रौपदी अवशेष’ पढेर कर्णालीलाई चिन्ने मेरो कौतुहलता पुरा भयो।

ग्रामिण भेगको सुन्दर वर्णन छ। सामाजिक विविधताको राम्रो अध्ययन छ। कुनैकुनै वाक्यमा एउटा भिन्दै उपन्यास भेटिए जस्तो लाग्छ – ‘च्याङ्ग्रा र चौरी हाम्रा बाँच्ने अधार।’ यिनका सबै काम आउँछ। एउटा सिंगो समाजको अध्ययन।

बहुपति प्रथामा हुर्केका भए पनि सामाजिक विकाशको क्रममा उनीहरूमा महिला प्रतिको सम्मान नभएको पनि होइन – “आमा जस्ती भाउजुसित बस्न मन नलाग्न्या।”

उपन्यासका धेरै च्याप्टरले भावुक बनाउँछ नै, तर अन्तिम च्याप्टर ूनकोरेको कपाल, नधोएको अनुहार, पढ्दा मेरा आँखा रसाएकै हुन्। प्रारम्भ भए पछि अन्त्य त हुन्छ नै, म उत्सुक थिएँ जान्न उपन्यासको बिट कसरी मारिन्छ होला भनेर। मेरो चिन्ता पनि पेमालाई लिएर नै थियो।

मनमनै म कल्पना गर्थें – मैले भए पेमा र ग्याल्जनलाई मिलाई दिन्थें र पुर्याई दिन्थें काठमाण्डौं चुलो सरसंग। मैले माथि भने ‘यो प्रेमको कथा हो।’ प्रेमको कथामा जीत प्रेमको हुन्छ र अन्त्यमा प्रेम कै जीत भएको छ। साथै प्रेमको परिभाषाले भन्छ – प्रेमले त्याग माग्छ। पेमा र ग्याल्जनको त्याग त प्रष्ट छ तर साथै सलाम गर्नुपर्छ नुर्बूको त्यागको पनि। “म भनेर आकी थिई पेमा पहिले। तर मैले उसले भने झैं आफ्नी मात्र बनाउन सक्यान। तु भन्यापछि मरिहत्ते गर्छ अहिले,” छोरी काखमै लिएर झट्ट उठ्दै धोद्रो स्वरमा ग्याल्जन तर्फ लक्ष्य गरेर नुर्बु बोल्यो। नुर्बु ग्याल्जनको छेउमा उभियो। र भन्यो, “जारीको चिन्ता लिन पर्दोइन।”

पाठकको प्रतिक्रियामा धेरै नलेखौं जस्तो लाग्यो। नीलमको प्रतिभासंग परिचित छु। उनी आफ्ना कृतिहरूमा गम्भीर विषयको छनोट गर्छिन् किनकी उनलाई गम्भीर विषयले नै छुन्छ र इमान्दारीपूर्वक पस्किन्छिन् आफूलाई भोका पानाहरुमा। शब्द पङ्ति र अनुच्छेद गर्दै। यस उपन्यासमा बहुपति प्रथाको कुरीतिबारे बोलेकी छन् उनले। यो सुन्दर विषयको उठान हो। दिग्विजय बाहेक अन्य पात्रले बोलेको भाषाको आञ्चलिक सौन्दर्यले प्रारम्भ देखि नै पाठकलाई निक्कै राम्रोसङ्ग प्रभावित पार्छ।“टाढैबाट हेर्छ, आँखाले मात्र बोल्न्या हो। किन्याको चीनोसम्म दिन मिल्दोइन।” कति सुन्दर मिठासपूर्ण प्रेम अभिव्यक्ति। वाह !

***

प्रतिक्रिया

सम्बन्धित खवर