– सरिता अर्याल

‘विश्वम्भरा’ हात परेपछि प्रकाशकको प्रकाशकीय पढदै जाँदा भगवती बस्नेतकृत `विश्वम्भरा´कविता सङ्ग्रहको बारेमा भनिएको वाक्य `कविता जीवन र जगत माझको संसारिक चित्रणले भरिएको छ । कवितामा प्रेम छ र प्रेम भित्रै पीडा र आस्था पनि छ ।´ यति पढिसके पछि मलाई पनि भगवती बस्नेतको कविता सङ्ग्रहका पाना पल्टाउन हतार भइहाल्यो । सङ्ग्रहभित्रका एकाउन्न वटा कविता मैले पनि एकै बसाइमा पढेर सकेँ  ।

“साँच्छिन् सात्त्विक भावबाट जननी संस्कार औ संस्कृति
लेखुँ ध्यान दिएर सौम्य कविता गर्दै मुमाको स्मृति ”

आमा शीर्षक कवितामा आमाको गुनगान गाउँदै लेखिएका यी दुई हरपले उनले कविताको थालनी गरेकी छन् । नारीभित्र के कस्ता प्रतिभा लुकेर बसेका हुन्छन् र ति प्रतिभारुपी शक्तिलाई बाहिर ल्याउन सके यो संसार कस्तो हुने थियो भनेर वर्णन गरेको पढ्दा सारा शरीर नै सिरिङ्ग भएर आउँछ  । लेखक र पाठक दुबै नारी भएर हो कि नारी प्रतिभा र प्रेमको आँगनी नामक शीर्षकका कविताले मलाई दोहोराएर पढ्न बाध्य बनाए ।
इजरायललाई कर्मथलो बनाएकी भगवतीले आफ्नो काम मात्र नगरेर यो देशलाई नै सुक्ष्म तरिकाले नियालेको उनको कवितामा बुझिन्छ । कसरी इजरायल मरूभूमिबाट सत्तरी वर्षमै एउटा सानो तर विकसित मुलुक बन्न पुग्यो भन्ने कुरामा उनले त्यहाँको राजनितीक,सामाजिक ,न्यायीक र कृषि क्षेत्रले गरेको कामलाई इङ्गित  गरेकी छन् । इजरायलले सत्तरी वर्षमा नै मारेको विकासको छलाङ्ग आफ्नो  देशले पाँच सय बर्ष भैसक्दा पनि नगरेकोले नेपालले पनि  इजरायलले  जस्तै विकसित होस् , आफ्नो देशले पनि विकासको छलाङ्ग  मारोस् भन्ने भाव  उनको कवितामा झल्किएको पाइन्छ  । वैदेशिक रोजगारमा  महिला कामदार असुरक्षित  हुन्छन्  भन्ने सबै देशको लागि भन्न सकिन्न । इजरायलमा  भने महिलालाई अति नै आदरकासाथ हेर्ने कुरालाई  पनि आफ्नो कविताका भाव मार्फत्  व्यक्त गर्न उनी  पछि परेकी छैनन्  ।

सखी हुँ म तिम्री तिमीले चिनेौ
सही स्नेहलाई पियारा बुझेनौ
सजाएर मायाँ मलाई दिएनौ
सदा भावना भन्छु केही सुनेनौ

सखी कविताका यी चार लाइनले धेरै कुरा बोल्दछ ।
उनका कविताका हरेक लाईनमा पाठकका आफ्नै भावना हो  कि भन्ने बनाउन सक्ने उनको कलममा शक्ति देखिन्छ । मलाई भगवतीका यी सबै छन्द कविता पढदा पढिरहुँ झैँ लाग्यो । यो नै  शास्त्रीय छन्दको शाक्ति रहेछ ।  छन्दोबध्द कविता संग्रह नै निकाल्नु त्यति सजिलो छैन त्यसको लागि अनुराग  र निरन्तरताको साधनाका साथै आत्मविश्वास चाहिन्छ ,त्यो भगवतीमा रहेछ भन्ने कुरा उनका कविता पढेर अनुभूत गर्न सकिन्छ  ।
भगवतीका कवितामा  नारीवाद झल्किन्छ । नारीका हकहितका कुरा ,मनोभावना,सामाजिक अवस्था,नारीका समस्या,बाध्यतालाई मार्मिक रुपले प्रस्तुत गर्न उनी सफल भएकी छन् । देशप्रेम पनि उनका कवितामा छताछुल्ल भएर पोखिएका छन् ।

न तिर्खा छ मेरो न निद्रा छ मेरो
उनै प्रियको नै छ माया उधारो
छ यो विश्वमा प्रेम सच्चा पियारो
बिना प्रेमको जिन्दगी हो तुसारो

‘माया उधारो’ शिर्षकको कविताका यी पङ्क्तिले प्रेममा डुबुल्की मारेका,प्रेममा धोका पाएका जो कोहिलाई तानेको छ ।आखिर यो संसार नै प्रेममा टिकेको छ भन्ने सन्देश दिन भगवती सफल भएकी छन् ।
१२८ पेजको विश्वम्भरा पढिसकेपछि भन्न मन लाग्यो  क्याबात भगवती तिम्रो कलम अब कहिल्यै नरोकिने सप्तकाेशी झैँ  बगिरहोस् बगिरहोस्  बगिरहोस् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर