– नयनराज पाण्डे
हिटलरलाई दूध खान मन लाग्यो ।
हो, आजको मेरो कथाको पात्र हो हिटलर । मेरो कथाको नायक बनिदिने धेरै दिनको मेरो अनुनयविनयपछि मात्र उसले पात्र बन्न स्वीकार गरेको दोहोरा म मेरा पाठकहरुलाई स सम्मान जानकारी दिन चाहन्छु ।
हिटलर अचेल मेरो रुमपार्टनर भएको छ । जतिखेर ऊ मकहाँ आयो, सहरमा दंगा सुरु भइसकेको थियो र सहरभरि पुलिसहरु कफ्र्यूको आदेश छर्दै थिए । त्यसैले आउनेवित्तिकै मैले एकछिन थकाइ मेटुँ, अनि सहर डुल्न जाउँला, भन्न सकिनँ । हिटलरले पनि केही भनेन । हामी केही बेर स साना टुक्राटुक्री कुराहरु गरेर निदायौँ ।
राति एकदुई पटक हिटलर तर्सेर बिउँझ्यो । उसले सहरभित्र बाघ देखेछ । अचेल हिटलर बाघ देखेर तर्सिन थालेछ, यो कुरा, पाठक महोदय, तपाईहरुलाई अचम्म लाग्ला । लाग्दैन? हो पनि, किन लागोस् ? आजको समय र परिवेशमा अचम्म भन्ने कुरा के ?
के एकसाथ सय पचासको हत्या हुनु अचम्म हो ?
सय जनाको एकै पटक नाक काटिनु कुनै अचम्म हो ?
सहरमा प्रत्येक मान्छेले एकअर्कालाई हतियार देखाएर तर्साउनु अचम्म हो ?
निश्चय पनि आधुनिक समय र सन्दर्भमा यी अचम्म का कुराहरु होइनन्, पक्कै होइनन् ।
राति हटिलरलाई ऐठन पनि पर्यो । उसले कैयन् पटक आफ्नो घाँटी निमोठिएको सपना देख्यो र गुहार माग्न खोज्यो सपनामै । अहँ, पटक्कै आवाज निस्किएन । घ्यार्रघ्यार्र गरेको त मैले पनि सुनेको थिएँ तर त्यतिखेर ऊ त्यति भयावह सपना देखिरहेको बेला, मैले कसरी ठम्याउनु । निकै बेरको संघर्षपछि मात्र उसका आँखा खुले र आँखा खुलेको केही बेरपछि मात्र सहज अनुभव गर्यो ।
राति हिटलरले एउटा अर्को सपना पनि देख्यो सहरका जम्मै व्यक्तिहरु समलिंगी भएको र सबैले बलजफ्ती उसको लुगा फुकालेर उसलाई नांगो पारेको । हिटलर तयतिखेर रोयो । बिउँझँदा पनि उसका आँखाका कापमा आँसु कटकटिएको थियो ।
र बिहानै हिटलरलाई दूध खान मन लाग्यो ।
तर उसको इच्छा पूरा गरिदिन हाल सम्भावना थिएन । मकहाँ नियमित रुपमा दूध पुर्याउने दूधवाला थिएन । त्यसैले दूध वा दूधबाट बनेका पदार्थहरुका लागि बजारमै जानुपर्ने बाध्यता थियो । र बजार जाने उपाय थिएन कफ्र्यूका कारण ।
सहरमा आगो लागेको थिएन तर आगोको तातो चारैतिर अनुभव भइरहेकी थियो । मान्छेहरु एकअर्कालाई एकसाथ आक्रमण र अविश्वासको भावले हेरिरहेका थिए । अस्पतालअगाडि दंगा, वडा प्रहरी कार्यालयअगाडि नै झडप, गल्लीहरुमा ढुंगा हानाहान, इदगाह अगाडि हात हलाहाल, मन्दिरअगाडि टाउको फोराफोर आदि इत्यादि कुराहरु आफ्नो सम्पूर्ण शक्ति, सामथ्र्य र आवेगका साथ भइरहेका थिए, घटिरहेका थिए ।
कट्टाहरु, छुराहरु, हयगोलाहरु, चेनहरु र बन्दुकहरुको खोजी सुरु भइसकेको थियो । सीमाका चोर बाटाहरुबाट यी कुराहरु भित्रिरहेका थिए ।
आशा, विश्वास, समझदारीका निम्ति सहर साँघुरो भइरहेको थियो ।
सर्वदलीय बैठक एकअर्कालाई आरोप प्रत्यारोप गर्दै सिद्धियो । आजको सन्दर्भमा मानवता विषयक प्रवचन कार्यक्रममा एउटा श्रोता पनि उपस्थित भएन । तटस्थ व्यक्तिहरु शान्ति मार्ग गर्न डराए ।
स्थिति यस्तो थियो र यस्तोमा दूधको सम्भावना थिएन । यही कुरा भन्न, स्पष्ट गर्न म हिटलरतिर फर्किएँ तर हिटलर आफ्नो साबिकको स्थानमा थिएन । ऊ बसेको ठाउँमा एउटा सानो चिट थिो र लेखिएको थियो दूधको खोजी ।
अर्थात् हिटलर दूधको खोजीमा निस्कियो ।
मसित, मभित्र यतिखेर डर पनि थियो र रिस पनि ।
यो ठाउँ, यहाँको परिवेश, यहाँका बाटाहरु, यहाँको स्थिति, सबैतिर अपरिचित हिटलर हराउन पनि सक्थ्यो अथवा हराइन पनि सक्थ्यो । त्यसैले उसलाई खोज्नु र रोक्नु जरुरी थियो ।
लुगा फेरेर म पनि निस्किएँ हिटलरको खोजीमा ।
म मूल सडकमा आइपुग्दा सडकमा कुकरहरु थिए पुलिसहरु पनि थिए । यो एरियामा कफ्र्यू जारी गरिएको थिएन तर डर, त्रास र अविश्वासहरु जारी थिए । शंका उपशंकाहरु जारी थिए । क्रोध, आवेग र उन्मादहरु पनि जारी थिए ।
डर, त्रास, अविश्वास, शंका उपशंका, क्रोध, आवेग र उन्मादहरु छिचोल्दै, पुलिस र कुकरहरुसित जोगिदै म कफ्र्यूग्रस्त बजार पुगिने गल्लीभित्र फुत्त पसेँ ।
गल्लीभित्र पनि कुकुरहरु थिए । यिनीहरुलाई कफ्र्यूको डर थिएन । त्यसैले यतिखेर सबैभन्दा डरलाग्दा कुकुरहरु नै थिए तर गल्लका कुकुरहरुबाट पनि म जोगिएँ र जुग्गीलालको बन्द रहेको पसलनेर पुगें । दायाँ टाँगास्टयान्ड र बायाँ राधाकृष्ण मन्दिरसम्म तन्काएर हेरें । बुट, टोप, बन्दुक र लट्ठीहरुबाहेक कतै केही देखिनँ । पसलहरु यस्तामा खुल्ने कुरै थिएन । त्यसैले दूधको खोजीमा निस्किएको हिटलरलाई यतातिर भेटिने सम्भावना रहेन ।
बुट, टोप, बन्दुक र लट्ठीहरु विपरीत दिशातिर फर्किएको मौका छोपी म खुरुर्र दौडेर ठीक अगाडिको महेन्द्रपार्क जाने गल्लीभित्र पसें । ढुक्क भएँ । नाबेल्टी हेयर कटिङ स्यालुननेर अडिएर चुरोट खान सलाई झिकें तर खल्तीमा चुरोट रहेनछ । हातमा यतिखेर सलाई मात्र रह्यो र म आफ्नै हातमा सलाईदेखि डराएँ । एउटा घरको झ्यालबाट च्याइरहेको, आठ दस वर्षको आँखा पनि डरायो । मानौं म उसको घर सल्काउन आएको छु । आँखाले आतंकित भएर झ्याल बन्द ग¥यो मैले हत्तपत्त सलाई फेरि खल्तीभित्र हुलें ।
घसियारन टोलबाट सोझैं हिँडेपछि म फेरि चोकनेरको बाटामा मिसिने गल्लीको मुखमा पुगेँ र गल्लीकै मुखबाट दायाँबायाँ अवलोकन गरेँ । चाट पसलअगाडिका खाली ठेलाहरु, बिरयानी पसलअगाडिको फोहोर, उन्मादीहरुद्वारा ध्वस्त रजाक कवडियाको तरकारी पसल, पानका पिकहरु, भागाभागमा छुटेका चप्पलहरु, यतिखेर बजारमा यति मात्र थिए । मिठाई पसलहरु, चिया पसलहरु सटर झारेर मौन बसेका थिए । त्यसैले दूधको पूर्ण सम्भावना थिएन ।
र त्यस्ेले हिटलर यता कतै देखिएन ।
त्यसपछि ठीक अगाडिको एक्लैनी पुग्ने गल्लीभित्र बन्द बजारलाई झुक्याएर मौनताको आँखा छलेर फुत्त पसें । सौरभ इलेक्ट्रोनिक्स, भेरी प्रिन्टिङ प्रेस, दिलवाले टेलर्सका बोर्डहरु सायद छक्क परेर मलाई हेरिरहे । र म सोझै दुकान र मुसाफिरखानअगाडि पुगेँ । कवाबका उब्रिएका बासी टुक्राहरु, पातहरु, अण्डाका बोक्राहरु र एकअर्कालाई हिर्काएका ढुंगाहरुबाहेक केही थिएन । हिजो अस्तिसम्मको व्यस्त हटारु बजार टाउकामा हात राखेर अपशकुनको मुद्रामा पसारिएको थचारिएको देखिन्थ्यो ।
यति मौनतामा पनि उन्मादको तीव्र ध्वनि किन व्याप्त छ ? कार्तिकका सुरुका दिनहरुमा यो तातोपन कस्तो ? यतातिर पनि मिठाई पसल र चिया पसलहरु खुल्ने कुनै सम्भावना थिएन र हिटलर यता पनि थिएन ।
अब मुसार्फिरखानाको दाहिनेतिरको साँघुरो गल्लीमा हिँडिरहेको थिएँ । यो बाटाबाट लक्ष्मी चित्रमन्दिरनेर पुगिन्छ । टाढा कतै बुटहरुको होहल्ला सुनेर म रोकिउँ र एउटा खम्बाको आडमा लुकेँ । बुटको होहल्ला टाढा पुगेको अनुमान लगाएर म सिनेमा हलअगाडिको बाटामा आइपुगें । विगत डेढदुई वर्षयतादेखिका नयाँ पुराना सिनेमाका पोस्टहरु, नायक हराएर खलनायकको मात्र भूमिका भूमिका शेष रहेको सिनेमा देखाएर थाकेको सिनेमा हल, बदामका बोक्राहरु, सो सिद्धिएपछि फालिएका प्रयोजनहीन टुक्राहरु ।
र यहाँ पनि हिटलरलाई खोज्नु व्यर्थ थियो ।
दूध ।
र हिटलर ।
यतिखेर म यी दुवैसित अत्याधिक क्रुद्ध थिएँ । क्रुद्ध त थिएँ तर हिटलरप्रति अगाध स्नेहको भाव पनि थियो मभित्र । बिचरो हिटलर, उसका निर्दोष आँखाहरु, आतंकविहीन जुँगा, निश्छल मुहार । त्यस्ता आँखा, त्यस्तो जुँगा, त्यस्तो मुहार अचेल कुन मान्छेसित बाँकी छ ? तानाशाही, बहसीपन, उन्माद अचेल मान्छेभित्र यीबाहेक अरु के छ ?
अरु के छ ?
के छ अरु ?
म लक्ष्मी क्लथ हाउसलाई छिचोलेर, भत्काएर नयाँ बाटाबाट नयाँ सिनेमा हल हुँदै धम्बोझी आइपुगें ।
थापाजीको बन्द फोटो स्टुडियो, संवेदनालाई खिच्ने कोडयाक रिलका खाली खोलहरु, पासपोर्ट साइजका तर च्यातिएका ब्ल्याक एन्ड ह्वाइट फोटोका टुक्राहरु, डेभलपर र फिक्सर खरिद गरिएका पुराना बिलहरु ।
बन्द दूध पसल फुटेका माटाका कथ (कुज्जा) हरु र तिनमा लागेको नौनी निकालिएको दूधको सेतोपना ।
र त्यसरी नै सातो गएर सेतो भएको सहर । अब हिटलरलाई खोज्न कुनै ठाउँ रहेन ।
कफ्र्यू हट्या ।
एकसि सटरहरु घ्यार्रघ्यार्र खुल्न थाले । मान्छेहरु बाँध भत्किएर पानी छताछुल्ल भएझैं जताततै पोखिए । आवाजहरु सुरु भए । कुकुरहरु अप्रत्याशित रुपले कम देखिन थाले ।
उन्माद बोकेका, एकाधिकारको भाव ओढेका तानाशाह मनको दास भएका मान्छेहरु, बाघहरुले झैं फेरि एकअर्कालाई हेर्न थाले, समलिंगीझैं नग्नता खौज्न थाले, घाँटी निमोठ्ने भावहरु आफूभित्र एकत्रित गर्न थाले ।
र दंगा फेरि सुरु भयो ।
धम्बोझी चोकमा दंगा, त्रिवेणी मोडमा दंग, एकलैनी बजारमा दंगा, त्रिभुवन चोकमा दंगा, अस्पताल अगाडि दंगा ।
म हिटलरलाई खोज्दै, मान्छेहरुबाट जोगिँदै, दंगाहरुलाई छिचोल्दै अस्पतालनेर आपुगें । अस्पतालभित्र पसें । इमर्जेन्सी बार्डमा घाइतेहरु, रगतहरु । वार्डको भुइँमा , भित्तामा रगत
मान्छेहरु रगतसित खेल्दै थिए । रगत आँखाभरि एकत्रित गर्दै थिए, मनभरि एकत्रित गर्दै थिए । रगत पोख्दै थिए, रगत पिउँदै थिए ।
र हिटलर त्यहीनेर, अस्पतालनेर, मरासिनीको पी.सी.ओ. अगाडि, भर्खरै खुलेर भर्खरै बन्द भइसकेको चिया पसलमा किनेको दूध पिउँदै, वाल्ल पर्दै, अनौठो मान्दै, डर, विस्मय, उत्सुकता र दिकदारीसाथ उभिएको थियो ।
‘हिटलर दंगा हेर्दै थियो’ यस्तो शीर्षकको समाचार गोरखापत्र, कान्तिपुर, विमर्श, जनमञ्चका संवाददाताहरुले पठाएनन् । आजका सन्दर्भमा हिटलर कुनै समाचार हुन सक्दैन । कुनै अनौठो व्यक्ति हुन सक्दैन । हत्या, मारकाट, अस्थिरता, आतंक, दंगा, अविश्वास, राजनीतिक तानातानबीच हिटलर को हो ? के हैसियत हिटलरको ?
मरासिनीले आफ्नो पी.सी.ओ. बन्द गर्दै हिटलरलाई भन्यो, “घर फर्किनुस् महाशय ।”
(पहिलोपल्ट प्रकाशित—समकालीन साहित्य, वर्ष ६, पूर्णाङ्क २२, वैशाख– असार २०५३)
प्रतिक्रिया
-
४