✍️ रिपन गौतम

 

यसपालि अम्सिलो राम्रो झ्यङीएन।कुच्चोको दाम के हुन्छ थाह छैन । सुपारीको बजार राम्रो छ तर बगैचा पाँचवर्षे एग्रीमेन्टमा बेचिएको छ । अदुवाको खेती पुरा नै सखाप भयो । सुन्तला रोगले सकियो ।
बिरेन्द्र सोचाइमा छ ।

सुमन अघिबाट नै चिन्तामा छे। एक्ग्रीकलचर अफिसमा गएर बुझ्ने सुझाव दिएकी छे सुमनले बिरेन्द्रलाई। कुनै खेतीपातीको विउ आको छ कि ! राममेडा र बन्द कोपीको विउ पाए आयस्रोत हुने थियो । कोइबेला त बोइलरको चिंङना पनि दिन्छ ।

मदेसतिर यो अमला र मजीटो पनि बिक्री त हुन्थ्यो । तर मदिसे पहाड पस्न डराउछन अहिले । गौरी बेतको टुसा, चुवाको फुल, पुत्काको मह र फामफलको भाउले पनि छाक त काटिन्थ्यो । तर जंगल पस्नु पनि ठिक छैन अहिले । नभए माथि रचेलाको फेदबाट एक फेरो चार्दा भइहाल्थ्यो ।

भोलि बजार ।
बेलुकी बिरेन्द्र चुपचाप बसेर पारितिर भित्तामा डडेलो लागेको हेरि रहयो । सुमनले छोरीलाई होमवर्क गराउदैं थिइ ।  पछि बाथको बिरामी सासुलाई दिसा पिसाब गराएर भित्र लगी । एकोरो भएको बिरेन्द्र जोडले खोके पछि कुलेसोमा गएर आमाबाट चोरेको कंकट सल्कायो । घुँवा काँ गयो देखिएन।मिनी फ्याक्ट्रीको चिम्नीबाट निस्केको जस्तै बिरेन्द्रको नाक र मुखबाट घुँवा फुस्–फुस् निस्किरहयो ।
सुमनले बोलाइ । बिरेन्द्र आयो । खान बस्यो ।

आमा बेलुकी भए पछि रून थाल्छिन् । सघै । कान्छो छोरोको याद गर्छिन्। बन्द खोलियो।तर बिरेन्द्रको भाइ घर फर्केन । मन बिग्रियो सबैको यो घरमा । पढेको भाइ काँ छ ! कुन जंगलमा छ ! कसैलाई थाहा छैन ।

हिजाज त गाउँमा कुकुर पनि भुक्दैन। स्यालको त गन्द नै छैन । रात बिलकुल चुप छ । पलङ चडेपछि सुमनले बिरेन्द्रको अनुहार नियालेर हेरिन् । तर प्रश्न गरिन ।

“अनऊ ! नानीको स्कुल त सनडे पनि लाग्छ हरे । सिलेबस कमपिलीट् गर्ने हरे !” बिरेन्द्र बोलेन । सुन्यो । हेर्यो। अनि जकको पानी घट–घट पियो ।

“अन्त सुन न ! मिटिङबाट आउँदा कस्तो जिस्काए साथीहरूले । के लामो ग्याप गरेको भन्दै चर्चा बनाए नि ।!

सुमनले कुरा गर्दा रिसको मात्रा थियो बोलिमा ।
“के ! किन ?” – सोध्यो । सुमनलाई ।

“तपाईलाई पनि रहर छ । आमा पनि मलाई टोकेसो दिरहन्छिन्। अनि मलाई पनि मन पर्छ । छोरीले यसपालि नाइन् क्लास सकी । बुज्नु नि !”

कोइबेला बिरेन्द्र र सुमनको सेकेण्ड बेबीको चर्चा चल्छ।अहिले सुमनले गरेको सन्दर्भ यही रैछ । बिरेन्द्रले बुज्यो ।

भोलिको बजार खर्च छैन घरमा।कसरी जुटाउने हो।सोचाईदेखि बाहिर छ बिषय । बिरेन्द्रले केही भनेन सुमनलाई । ओठ बटारेर सुमन उता फर्की । सुती । बिरेन्द्र ट्वाँ पर्यो । कोल्टे फेर्यो ।

बजार पुगेपछि बिरेन्द्रले केही सोच्नु सकिरहेको छैन । खर्च छैन गोजीमा । थुप्रो छन् किन्नु पर्ने वस्तु ।आमाको दवाइ । छोरीको जुत्ता । सुमनको भित्री लुगा । चामल । आटा । आलु । सब्जी । मट्टितेल । खाने तेल । मर मसला । मासु । काँटी । प्लाष्टिक । गाइको दाना । बाक्राको टाँटनो बाध्ने दोरी । सन्तेकोबाट लिएको पाँच सय सापट फिर्ता ।

हस्पिटलको ओरालो झर्दा बिरेन्द्रले देख्यो ठूलो होर्डीङ–फ्यामेली प्लानिङ्ग ।

आज बिरेन्द्रले मारुती भ्यान रिजब गरेर घर आयो । मनग्गे पुग्ने समान झर्यो भ्यानबाट । सुमन खुसी भइ । आमा रमाइन । छोरी उफ्री उफ्री नाचि । बिरेन्द्र पनि रमायो । पचास रुपियाको छिट्टाले पन्द्र सयको लट्री फसेको खुलासा बिरेन्द्रले परिवारप्रति राख्यो ।

सरासर झुटो खुलासा ।

सुमन पलङ चडी।थाकेर सुतेको बिरेन्द्रले आज सुमनलाई हेर्यो लामो समयसम्म।
“कसैले चर्चा गरे भनी दिनु सुम – अब हामी अर्को नानी नजन्माउने !”
आज सुमन ट्वाँ परि ।
चिरिक्चि–रिक् व्यथा सहदै बिरेन्द्रले कोल्टे फेर्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर