पर्वत, लेखफाँटमा जन्मिएकी रेणुका जि।सी शिक्षण पेशामा आवद्ध छिन् । कविता,गजल, कथा र समसमायिक विषयमा अखबारी कलम चलाउने जि.सी.को ‘ज्वलनका अभिव्यक्ति’ (गजल सङ्ग्रह २०६२) प्रकाशित छ । २०७८ सालको बाह्रखरी कथा प्रतियोगिताको तेस्रो संस्करणमा उनको कथा ‘मुडुली’ले तृतीय स्थान हासिल गरेको थियो । पहाडमा जन्मिएर मधेसलाई कर्मभूमि बनाएकी रेणुकाको पहिलो कथासङ्ग्रह ‘सनेस’ आज लोकार्पण हुँदैछ । उनै कृति र साहित्यका सन्दर्भमा कथाकार जि.सीसँग सेतोमाटोका सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको सम्पादित अंश प्रस्तुत छः

आज यहाँको कथा सङ्ग्रह ‘सनेस’ विमोचन हुँदैछ । सर्वप्रथम त बधाई र शुभकामना टक्राइ हाल्छु । कथा सिर्जना गर्दाको समयदेखि आज विमोचनसम्मको यात्रा कस्तो रह्यो ?

बधाई तथा शुभकामनाका लागि धन्यवाद । कथाहरू लेख्दै गर्दा यी कथाहरू कुनै दिन सङ्ग्रहमा आउलान् भन्ने कल्पनै नगरेको होइन । तर, चाँडै नै म सनेस मार्फत पाठकसामु उपस्थित भैहाल्छु भन्ने लागेको थिएन । कथा लेख्नु भनेको आफ्नैलागि मात्र लेख्नु होइन । यो वृहत्तर पाठक वृत्तमा पुगोस् भन्ने हरेक लेखकलाई लाग्छ नै । मलाई पनि लागेको छ । लेखनदेखि विमोचनसम्मको यात्राको कुरा गर्नुपर्दा, यो यात्रा मलाई रोचक र रोमान्चक दुवै लागिरहेछ । रोचक यसकारणकी अब मेरा कथाहरू अब मेरामात्र रहेनन्, पाठकका भए र अब पाठकबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने कुराले चाहिँ रोमान्चित बनाइरहेछ ।

एउटा पाठकले ‘सनेस’भित्र कस्ता कथाहरू भेट्ने छ ?

एउटा पाठकले सनेसभित्र कस्ता कथाहरू भेट्ने छन् ? मैले आफैँले आफ्नो विज्ञापन गरिहिँड्नु उति राम्रो त नहोला । तर तपाईंले प्रश्न नै सोधिसकेपछि प्रश्नबाट भाग्नु पनि भएन । सनेसभित्र दुई खालको परिवेश भेट्न सकिन्छ, मधेश र पहाड। पर्वत म जन्मे हुर्केको परिवेश र रौतहट मेरो कर्मस्थल । दुवै परिवेशका केही मौलिक भिन्नताहरू छन् । तर मान्छेका भावना, सुख दुःख, आनन्द, पीडा भने जहाँसुकै पनि शाश्वत हुँदा रहेछन् । मेरा कथामा भावनाका यी सबै आयामहरु पाठकले अनुभव गर्नुहुन्छ भन्ने लागिरहेको छ ।

तपाईं पर्वतमा जन्मिनुभयो र अहिले चपुर-रौतहट कर्मभूमि बनेको छ । पहाडदेखि मधेसको यात्रा यहाँको जीवनमा देखिन्छ । दुई अलगअलग भूगोलको परम्परा ,संस्कृति, समाज, रीतिरिवाज, भाषा आदिको अनुभव यहाँलाई छ । तपाईंले मधेश र पहाडलाई आफ्ना कथाहरूमा कत्तिको जोड्नुभएको छ ?

कसैको लेखन पनि पूर्ण हुन्छ जस्तो मलाई लाग्दैन । पूर्णताको खोज नै सधैँ लेखकको अभिष्ठ हुन्छ र यो छटपटी जीवनपर्यन्त जारी रहन्छ । मेरो लेखनमा पनि त्यो छटपटी छ । मैले धेरै कुरा लेख्न खोजेकी छु र पनि लाग्छ, धेरै कुरा अझै अव्यक्त नै रहे । म ठूलो कुरा गर्न सक्दिनँ । कथा लेखनको शुरुवाती चरणमा छु । तर मैले आफ्नो विवेक र चेतले जानेसम्म आफूले देखेको, भोगेको, अनुभूत गरेको कुरालाई ईमान्दारीपूर्वक लेख्ने प्रयास गरेकी छु ।

दुई फरक परिवेशलाई बुझ्न र भोग्न पाउनु एउटा लेखकको रूपमा मेरो सौभाग्य हो । मैले आफूभित्रको भोगाइ र बुझाइलाई सशक्तरुपमा अभिव्यक्त गर्न सकेँ भने त्यो मेरो लेखकीय जीवनको लागि पनि उपलब्धीपूर्ण हुनेछ । म त्यसतर्फ प्रयासरत् छु । त्यसैले दुई फरक भूगोल, संस्कृति, भाषिक परिवेशले मलाई जुन विषयवोध दिएको छ, मभित्रको लेखकको लागि एउटा अमूल्य पुँजी हो । म त्यो पुँजी बटुल्दैछु अहिले ।

यहाँले कथा लेख्दा कुनै पनि विषयलाई टिपि सकेपछि त्यसलाई पूर्णरूपमा लेख्दासम्म के कस्तो प्रक्रियाबाट गुज्रिनु हुन्छ ?

कुनै विषय दिमागमा आएर त्यसलाई लिपिवद्ध गर्दासम्मको समय एउटा लेखकको लागि एकसाथ आनन्द र पीडाको समय हो । म धेरै पटक यस्तै आनन्द र पीडाबाट गुज्रिएँ । कुनै नयाँ विषय दिमागमा आउँदा, तत्काललाई आनन्द पनि आउँछ । तर, जब ती विषयलाई पात्रको जीवनमा स्थापित गरिन्छ, त्यसपछि पात्रको सुख दुःख र पीडामा लेखक आफू पनि समाहित भैजाँदो रहेछ ।

कथा भनेको के हो जस्तो लाग्छ र कथा यो समाजलाई किन आवश्यक छ ?

म कथाको परिभाषा दिने हैसियतको लेखक होइन । म आफैँ पनि वास्तवमा कथा के हो र के होइन भनेर बुझ्न चाहिरहेकी छु । त्यही बुझ्ने क्रमको सिर्जना पनि हो सनेस । कथाका पाठ्यपुस्तकीय परिभाषामा अचेलका कतिपय कथाहरू नअटाउन सक्छन् ।

तर एउटा कुरा के हो भने, मैले जति पनि कथा पढेकी छु ती कुनै न कुनै रुपले समाजसित जोडिएका छन् । कथा भन्ने शैली फरक होला, शिल्प फरक होला तर समाज नभेटिने कथाले मलाई आकर्षित गर्दैनन् । अब रह्यो कुरा कथा समाजलाई आवश्यक छ कि छैन भन्ने, यो चाहिँ गम्भीर बहसको विषय हो ।

मलाई के लाग्छ भने समाजलाई आवश्यक छ भनेर कथा लेखिने हैन होला । पहिले त विषयवस्तु लेखक स्वयंलाई आवश्यक लाग्नु पर्यो । त्यसको लागि लेखकलाई उसको चेतनाको स्तरले उत्प्रेरित गर्छ होला । त्यो उत्प्रेरणाले नै उसले कस्तो विषयमा लेख्ने ,कस्तोमा नलेख्ने भनेर आफ्नो प्राथमिकता निर्धारण गर्छ होला । जब उसले लेखिसक्छ, समाजले आफ्नो लागि उपयोगी छ भने ग्रहण गर्छ, नत्र वास्तै गर्दैन । त्यसैले त कतिपय साहित्य पठनीय त होलान् तर सबै साहित्य समाजोपयोगी हुँदैनन् ।

यहाँलाई मनपर्ने तीनजना कथाकार ?

यो प्रश्नलाई स्किप गर्न मिल्दैन ? प्रत्यक्ष भएको भए म यहीँ भन्थेँ । यसो भन्न मिलेन । उत्तर त दिनुपर्यो । मलाई तीनजना मात्र होइन धेरैजना मनपर्छ । तापनि जीवनमा उहाँहरूले लेखेको जत्तिको कथा लेख्न सक्ने बनूँ भन्ने लागेका तीन कथाकारहरूमा सत्यजीत रोय, नयनराज पाण्डे र अर्चना थापा हुन् ।

यहाँलाई अत्याधिक मनपरेको तीनवटा कथा ?

विवस्त्र रामायण, सलमा सितारा, अनुकुल। नाम थप्न मिल्छ ? अझ एक दर्जन थपूँ थपूँ लागेको छ ।

अन्तमा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।

मैले आफूलाई भन्न मन लागेका कुराहरु कथामार्फत् भनिसकेकी छु । अरु केही भन्न मन लागे अरु पनि केही लेखुँला । तर मैले जति लेखे पनि त्यसलाई स्वीकार गर्ने नगर्ने, रुचाउने नरुचाउने अधिकार पाठकमा निहीत छ । म पाठकहरूसित संवाद गर्न नै सनेस मार्फत उपस्थित भएकी हुँ । अहिलेलाई मेरो भन्नु यत्तिमात्र । अँ ! तपाईँलाई धेरै धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर