✍️ मिराज
गजल – एक
केवल दागहरू देखिन्छन रङ्गमा शृङ्गार देखिन्न
यो तेजाब परेको जिन्दगी हो सुन्दर अनुहार देखिन्न
ऊ मर्नै आटेको छ सरकार अभावको सङ्क्रमणले
तेरो नजरमा मतदाता देखिन्छ बेरोजगार देखिन्न
मन्दिरको प्रसाद खाँदा नि दाँतमा ढुङ्गा लाग्यो
हे ईश्वर निधार देखिन्छ अभागी निधार देखिन्न
शौचालयका भित्तामा लगाएको रङ्ग उस्तै छ
चुनाब आएको रैनछ अचेल पार्टीको प्रचार देखिन्न
गजल – दुई
हजुरको हातमा दिन पाइएन धन यतिबेला
टाट पल्टेको कम्पनीझैँ छ जीवन यतिबेला
म घर बनाउन नसकेर घर छोडेर हिँडेको हुँ
कति महंगो निस्कियो इँटाको आयतन यतिबेला
सपना भत्केको बाटोमा ढुङ्गा माटोको दोष छैन
आफ्नै पैतालामा आएका हुन् अड्चन यतिबेला
तिमीले भीरमा समातेको बाटो छेउको बोट हुँ
तिम्रो यात्रालाई मिल्यो अक्सिजन यतिबेला
किट्क्याट सम्झेर टोक्ने हौ कि डर लाग्छ
तिम्रो ओठमा गएर बसेको छ मन यतिबेला
प्रतिक्रिया
-
४
